२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव आज निर्णयार्थ प्रस्तुत हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको बैठकमा निर्णयार्थ प्रस्तुत हुँदै छ ।

संसद बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।

अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । उक्त प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ ।

वर्तमान गठबन्धन सरकारको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली सरकार सङ्कटमा परेको थियो ।

प्रधानमन्त्री ओलीको दम्भ र अहँकारका कारण आफूले समर्थन फिर्ता लिएर उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रले जनाउँदै आएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेससहितका २ सय ८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसदमा पेस गरिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान जारी भएसँगै संसदमा प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुग्नुभएका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै सङ्कटमा पर्न गएको छ ।