१५ कार्तिक २०८३, आइतबार

राहुल गान्धीको दाबी– ज्ञानेश कुमार नभएको भए मोदी प्रधानमन्त्री बन्न सक्ने थिएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय कंग्रेसका नेता तथा लोक सभामा विपक्षी दलका सांसद राहुल गान्धीले केन्द्र सरकार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि कडा टिप्पणी गरेका छन् ।

राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित इन्डिया गठबन्धनको विशाल जनसभालाई सम्बोधन गर्दै उनले देशलाई सही बाटोमा फर्काउने पहिलो कदम भनेकै ज्ञानेश कुमारलाई उनको पदबाट हटाउन जरुरी रहेको बताए ।

राहुलले यो देश केवल दुईतीन जना व्यक्तिको मात्रै नभएको भन्दै देशको संविधान र लोकतान्त्रिक मूल्यमान्यतासँग गरिने कुनै पनि किसिमको छेडछाड कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे ।

उनले ज्ञानेश कुमारले गम्भीर अपराध गरेको आरोप लगाउँदै समय मै पदबाट राजीनामा दिन भने ।

‘ज्ञानेश कुमारलाई रातमा निद्रा लाग्दैन । उनी डराएका छन् । उनले सबैभन्दा गम्भीर अपराध गरेका छन् । उनले राष्ट्रको आवाजलाई दबाउने प्रयास गरेका छन्, घाँटी निमोठेका छन् ।’ गान्धीले भने, ‘म भारतका हरेक नागरिक र युवालाई भन्दै छु कि ज्ञानेश कुमारलाई प्रमुख निर्वाचन आयुक्तको पदबाट हटाइनेछ र उनी जेल पुग्नेछन् ।’

यस्तै, उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि पनि टिप्पणी गर्दै आफूहरुले घृणा फैलाउन नभई प्रेम फैलाउन चाहेको स्पष्ट पारे ।

‘ज्ञानेश कुमार नभएको भए न त नरेन्द्र मोदी प्रधानमन्त्री बन्न सक्थे, न त अमित शाह गृहमन्त्री नै बन्न सक्थे । हामी शत्रुता पाल्ने मानिस होइनौँ । हामी घृणा फैलाउन चाहँदैनौँ । हामी प्रेम फैलाउन चाहन्छौँ । यो विरोध प्रदर्शन कुनै एक दल वा नेताको मात्र होइन । यो राष्ट्रको विरोध प्रदर्शन हो । यो देशको आवाज हो, संविधानको रक्षाका लागि उठाइएको आवाज हो ।’ गान्धीले भने ।

यस्तै, गान्धीले सन् २०२४ को लोक सभा चुनावको निष्पक्षतामाथि पनि गम्भीर प्रश्न उठाए । गान्धीले त्यस निर्वाचनलाई ‘अवैध’ भने । गान्धीका अनुसार, सन् २०२४ को आम निर्वाचनपछि देशका १५ प्रतिशत मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

गान्धीले उक्त निर्वाचनमा व्यापक धाँधली भएको र यो कुरा निर्वाचन आयोग आफैले भनिरहेको दाबी पनि गरे ।

गान्धीले आज उठिरहेको आवाज कुनै राजनीतिक दल वा कुनै विशेष नेताको व्यक्तिगत आवाज नभई देशकै भएको बताए ।

उनले भने, ‘यो देशका युवाहरूको आवाज हो । आज युवाहरू आफ्ना अधिकार, आफ्नो भविष्य र आफ्नो पहिचानका लागि उभिएका छन् । देशका युवाहरू अहिले परिवर्तनको आह्वान गरिरहेका छन् र आफ्नो हकको माग गरिरहेका छन् । यो यस्तो माग हो जसलाई बेवास्ता गर्न सकिँदैन ।’

ज्ञानेश कुमारको राजीनामा मागमा इन्डिया गठबन्धन अडिग, ‘चलो दिल्ली’मा १० लाख बढी जनता उतार्दै

ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने इन्डिया गठबन्धनको घोषणा