–गणेश अम्गाई
आजको आधुनिक युगमा प्रविधि र सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग बनिसकेका छन् । मोबाइलको पहुँचसँगै फेसबुक, इन्स्टाग्राम, टिकटक र रील्स जस्ता माध्यमहरूले नागरिकलाई संसारसँग जोड्ने काम त गरेका छन्, तर यसको सही सदुपयोग हुन नसक्दा विभिन्न कानुनी संकटहरू पनि सँगै भित्रिएका छन् । व्यक्तिगत मनोरञ्जनका लागि गरिने साना गल्तीहरू अनभिज्ञताका कारण गम्भीर साइबर अपराधमा परिणत भइरहेका छन्, जसले व्यक्तिलाई कानुनी कठघरामा मात्र उभ्याउँदैन, बरु समग्र सामाजिक प्रतिष्ठा नै सखाप पारिदिन्छ । त्यसैले, प्रविधिको प्रयोग गर्दा देशको कानुन र नागरिकको सीमा बुझ्नु अपरिहार्य भइसकेको छ ।
वर्तमान समयमा नेपाली समाजमा डिजिटल साक्षरताको चरम अभाव खड्किएको देखिन्छ । सामाजिक सञ्जालमा कुन कार्य कानुनी हो र कुन कार्य गैरकानुनी हो भन्ने स्पष्ट रेखा कोर्न नसक्दा धेरै नागरिकहरू अन्जानमै अपराधी बन्न पुगेका छन् । अर्काको अनुमति बिना तस्वीर सार्वजनिक गर्नु, नक्कली खाता खोलेर जिस्काउनु, वा भ्रामक सूचना फैलाउनु जस्ता क्रियाकलापहरूलाई सामान्य ठान्ने प्रवृत्तिले गर्दा साइबर अपराधका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । यो अवस्थालाई चिर्न र समाजलाई सचेत बनाउन आम नागरिकमा कानुनी चेतनाको सञ्चार गर्नु राज्य र सचेत समाजको मुख्य दायित्व हो ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा कानुनी चेतना जगाउनु आजको मुख्य आवश्यकता हो । इन्टरनेट र प्रविधिको आधुनिक दुनियाँमा ‘मलाई कानुन थाहा थिएन’ भन्दैमा कसैले पनि कानुनी सजाय र दायित्वबाट उन्मुक्ति पाउन सक्दैन । तसर्थ, आफ्ना दैनिक डिजिटल गतिविधिहरूलाई मर्यादित र सुरक्षित राख्न, साइबर अपराधको चंगुलबाट जोगिन तथा अरूलाई पनि बचाउनका लागि यस सम्बन्धी कानुनी एवं व्यावहारिक पक्षहरूलाई गम्भीरता पूर्वक बुझ्नु र आत्मसात गर्नु अपरिहार्य देखिन्छ ।
पहिचान चोरी र चरित्रहत्यासम्बन्धी कानुनी व्यवस्था
सामाजिक सञ्जालमा अरूको नाम, तस्बिर वा व्यक्तिगत विवरण प्रयोग गरेर नक्कली खाता खोल्नु पहिलो र गम्भीर अपराध हो । धेरैले रमाइलोका लागि वा बदला लिने उद्देश्यले अरूको जस्तै दुरुस्तै प्रोफाइल बनाएर समाजमा भ्रम फैलाउने गर्दछन् । यस्तो कार्यले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा अपूरणीय क्षति पुर्याउँछ । कानुनले यसलाई स्पष्ट रूपमा पहिचान चोरी र कीर्ते कार्य मान्दछ, जसका कारण कडा कारावास र जरिवानाको भागीदार हुनुपर्दछ ।
यसैगरी, डिजिटल माध्यमबाट कसैको चरित्रहत्या गर्नु वा झूटा लाञ्छना लगाउनु अर्को दण्डनीय कार्य हो । फेसबुक वा इन्स्टाग्रामका पानाहरूमा प्रमाणित नभएका कुराहरू लेखेर कसैको इज्जतमा धक्का पुर्याउने वा अपमानजनक व्यङ्ग्य र ट्रोल बनाउने काम साइबर मानहानी अन्तर्गत पर्दछ। मानिसहरूले डिजिटल स्पेसलाई अनुशासनहीन थलो सोच्ने गल्ती गरिरहेका छन्, तर अनलाइनमा व्यक्त गरिएका प्रत्येक शब्द र तस्बिर कानुनी प्रमाणका रूपमा अदालतमा ग्राह्य हुन्छन् ।
अर्काको व्यक्तिगत जीवनलाई लिएर लगातार म्यासेज वा कमेन्ट गरी मानसिक रूपमा प्रताडित गर्नु अनलाइन उत्पीडन र बुलिङ हो ।
अर्काको व्यक्तिगत जीवनलाई लिएर लगातार म्यासेज वा कमेन्ट गरी मानसिक रूपमा प्रताडित गर्नु अनलाइन उत्पीडन र बुलिङ हो । सहमति बिना कसैको अडियो कल रेकर्ड सार्वजनिक गर्नु वा भिडियो कलको स्क्रीनशट लिएर सामाजिक सञ्जालमा पोस्ट गर्नु गोपनीयताको हक विपरीतको गम्भीर कसूर हो । राज्यको कानुनले प्रत्येक नागरिकको व्यक्तिगत गोपनीयता र आत्मसम्मानको रक्षा गर्ने ग्यारेन्टी गरेको हुनाले यस्ता गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याइन्छ ।
त्यस्तै, तस्वीर र भिडियोको तोडमोड गर्ने नयाँ प्रविधिहरू (जस्तै कृत्रिम बौद्धिकताबाट अनुहार वा आवाज बदल्ने माध्यम)को दुरुपयोग गरेर अश्लील वा भ्रामक सामग्री निर्माण गर्नु झन् भयानक अपराध बनेको छ । कसैले नबोलेको कुरा बोलेको भनी नक्कली च्याटको स्क्रीनशट बनाउने वा भिडियो क्लिप सम्पादन गरेर भाइरल बनाउने कार्य डिजिटल कीर्ते अन्तर्गत पर्दछ । यसले समाजमा अराजकता फैलाउने हुनाले यस सम्बन्धी कानुन निकै कडा बनाइएको छ ।
अदालतबाट दोषी प्रमाणित नहुँदै सामाजिक सञ्जालमा कसैको तस्वीर राखेर ‘अपराधीघोषणा गर्नु वा ’ ‘मिडिया ट्रायल’ चलाउनु कानुन हातमा लिनु सरह हो । सम्बन्ध विच्छेद वा प्रेम सम्बन्ध टुङ्गिएपछि पुराना रिस साध्नका लागि पुराना म्यासेज वा तस्वीरहरू सार्वजनिक गर्ने बदलामुखी भावनाका कार्यहरू अक्षम्य मानिन्छन् । नागरिकहरूले बुझ्नुपर्छ कि कसैको प्रतिष्ठामा आँच पु¥याउने जुनसुकै डिजिटल कृत्यले अन्ततः आफैलाई जेलको कोठासम्म पुर्याउँछ ।
डिजिटल ठगी र वित्तीय अपराधको कानुनी सुरक्षा
इन्टरनेटको संसारमा वित्तीय ठगीका नयाँ–नयाँ प्रपञ्चहरू दैनिक रूपमा देखिने गरेका छन् । उपहार परेको वा चिट्ठा जितेको भन्दै सर्वसाधारणलाई लोभ्याउने र अग्रिम कर वा डेलिभरी शुल्कका नाममा रकम असुल्ने गिरोहहरू सामाजिक सञ्जालमा सक्रिय छन् । यस्ता भ्रामक म्यासेज वा पोस्टहरू सञ्चालन गर्नु र मानिसहरूको सोझोपनको फाइदा उठाउनु गम्भीर वित्तीय साइबर अपराध हो । यसले नागरिकको कडा परिश्रमको कमाइ क्षणभरमै गुम्ने जोखिम बढाउँछ ।
फिसिङ भनिने नक्कली लगइन पेज वा भाइरस युक्त लिङ्कहरू म्यासेन्जर र ह्वाट्सएपमा फैलाएर अरूको खाता ह्याक गर्ने प्रयास पनि व्यापक बन्दै गएको छ । ‘यो भिडियो हेर्नुहोस्’ वा ‘फ्रि ब्यालेन्स पाउनुहोस्’ जस्ता प्रलोभन देखाएर मानिसहरूको व्यक्तिगत बैंकिङ विवरण, पासवर्ड वा ओटीपी कोड चोर्नु प्राविधिक डकैती हो । यसरी संकलन गरिएका विवरणबाट डिजिटल वालेट वा बैंक खाता खाली गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई बैंकिङ कसूर र साइबर अपराध दुवै ऐन अन्तर्गत कारबाही हुन्छ ।
अर्कोतर्फ, चिनजानकै साथी वा आफन्तको खाता ह्याक गरेर वा उस्तै नक्कली प्रोफाइल बनाएर ‘म आपतमा परे, पैसा पठाइदेऊ’ भन्दै म्यासेन्जरमा रकम माग्ने सामाजिक इन्जिनियरिङ ठगी पनि निकै बढेको छ । त्यस्तै, विना दर्ता र विना बिल इन्स्टाग्राम वा फेसबुक पेज मार्फत व्यापार गर्ने, नक्कली ब्रान्डका कमसल सामान सक्कली भनी बेच्ने र एड्भान्स पैसा लिएर ग्राहकलाई ब्लक गर्ने कार्यहरू उपभोक्ता हित र डिजिटल वित्तीय कानुन विपरीतका ठगी धन्दा हुन् ।
आजभोलि डिजिटल क्युआर कोडको दुरुपयोग गरेर अवैध रकम ओसार–पसार गर्ने वा जुआ र सट्टेबाजीको पैसा आफ्नो खातामा प्राप्त गर्ने प्रवृत्ति पनि देखिएको छ । आफ्नो डिजिटल खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न दिनु कानुनको नजरमा अपराधको मतियार बन्नु हो ।
आजभोलि डिजिटल क्युआर कोडको दुरुपयोग गरेर अवैध रकम ओसार–पसार गर्ने वा जुआ र सट्टेबाजीको पैसा आफ्नो खातामा प्राप्त गर्ने प्रवृत्ति पनि देखिएको छ । आफ्नो डिजिटल खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न दिनु कानुनको नजरमा अपराधको मतियार बन्नु हो । यदि उक्त खातामा ठगीको पैसा आएको प्रमाणित भएमा खातावाला सोझै कानुनी कारबाहीको भागीदार बन्नुपर्छ । अनलाइन सपिङका क्रममा सामान चित्त नबुझेर फिर्ता गर्न खोज्ने ग्राहकको फोन नम्बर र विवरण ‘ठग ग्राहक’भन्दै सार्वजनिक गर्नु पनि दण्डनीय छ ।
क्रिप्टोकरेन्सी जस्ता प्रतिबन्धित डिजिटल मुद्रा वा नेटवर्किङ मार्केटिङका अवैध वित्तीय योजनाहरूको प्रवद्र्धन सामाजिक सञ्जालबाट गर्नु नेपालको कानुन अनुसार पूर्णतः वर्जित छ ।
कृत्रिम बौद्धिकताको प्रयोग गरी आवाज कपी गरेर परिवारकै सदस्य सङ्कटमा परेको भ्रामक नाटक रच्ने र पैसा असुल्ने गिरोहहरूका विरुद्ध सुरक्षा निकाय निकै आक्रामक बनेको छ । तसर्थ, डिजिटल माध्यमबाट हुने जुनसुकै आर्थिक कारोबारमा उच्च सतर्कता अपनाउनु र कानुनी दायराभित्र रहनु नै सुरक्षित हुने एक मात्र उपाय हो ।
राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था र सामाजिक सहिष्णुता
सामाजिक सञ्जाल केवल व्यक्तिगत विचार राख्ने थलो मात्र होइन, यसले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा सीधा प्रभाव पार्दछ । नेपालको अखण्डता, सार्वभौमिकता वा राष्ट्रिय सुरक्षामा खलल पुग्ने गरी अनलाइनमा प्रचार–प्रसार गर्नु वा राज्य विरुद्ध विद्रोहको आह्वान गर्नु सबैभन्दा गम्भीर अपराध हो । नागरिकहरूलाई कानुन हातमा लिन वा सुरक्षा निकाय विरुद्ध हतियार उठाउन उक्साउने सामग्रीहरू पोस्ट गर्नु राज्य विरुद्धको कसूर मानिन्छ र यसमा कडा सजायको व्यवस्था छ ।
हाम्रो देश बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको छ । कुनै विशिष्ट धर्म, सम्प्रदाय वा आस्थामाथि चोट पुग्ने गरी फेसबुक वा टिकटकमा लेख्नु, भिडियो बनाउनु वा घृणास्पद अभिव्यक्ति दिनु धार्मिक सहिष्णुता भत्काउने प्रयास हो ।
हाम्रो देश बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको छ । कुनै विशिष्ट धर्म, सम्प्रदाय वा आस्थामाथि चोट पुग्ने गरी फेसबुक वा टिकटकमा लेख्नु, भिडियो बनाउनु वा घृणास्पद अभिव्यक्ति दिनु धार्मिक सहिष्णुता भत्काउने प्रयास हो । दुई समुदायबीच विवाद बढाउने र दङ्गा भड्काउने उद्देश्यले पुराना वा संवेदनशील भिडियो सेयर गर्नु पूर्ण रूपमा वर्जित छ । राष्ट्रिय झण्डालाई जलाउने, च्यात्ने वा संवैधानिक अङ्गहरूको अपमान हुने गरी सामग्री विकृत बनाउनु पनि दण्डनीय हुन्छ ।
सार्वजनिक थलोहरू जस्तै सडक, अस्पताल वा संवेदनशील सरकारी कार्यालयमा सर्वसाधारणलाई बाधा पुग्ने गरी टिकटक वा रील्स भिडियो बनाउनु सार्वजनिक अशान्ति फैलाएको मानिन्छ । डिउटीमा रहेका प्रहरी वा सुरक्षाकर्मीलाई जिस्काउने, उनीहरूको काममा अवरोध पुर्याउने वा सुरक्षा फौजले चालेका गोप्य अपरेसनहरूको प्रत्यक्ष प्रसारण गरेर अपराधीलाई मद्दत पुर्याउनु कानुनी रूपमा वर्जित छ । समाजमा अशान्ति फैलिरहेको बेला उत्तेजना बढाउने गरी लाइभ बस्नु पनि अपराध नै हो ।
विभिन्न महामारी, प्राकृतिक विपत्ति वा संवेदनशील घटनाको समयमा सत्य बिनाका झूटा समाचार, दुर्घटना वा जीवित व्यक्तिको मृत्युको हल्ला फैलाउनुले समाजमा अनावश्यक त्रास र कौतुहलता सिर्जना गर्दछ । यस्ता ‘डेथ होक्स’ वा झूटा हल्लाहरूले सम्बन्धित परिवार र समाजमा गम्भीर मानसिक आघात पुर्याउने हुँदा साइबर कानुनले यसलाई कडा नजरले हेर्दछ । कानुनले प्रतिबन्ध लगाएका सङ्गठन वा आपराधिक समूहको विचारलाई अनलाइन मार्फत प्रवद्र्धन गर्नु वा चन्दा संकलन गर्नु पनि यसै अन्तर्गत पर्दछ ।
ह्वाट्सएप, भाइबर वा फेसबुक ग्रुपका एडमिन (सञ्चालक) हरूको जिम्मेवारी पनि यस सन्दर्भमा निकै महत्त्वपूर्ण हुन्छ । आफ्नो ग्रुपभित्र बाल अश्लीलता, राष्ट्र विरोधी वा घृणास्पद सामग्री पोस्ट हुँदा पनि त्यसलाई नहटाउनु वा मूकदर्शक बन्नु अपराधलाई प्रश्रय दिनु सरह हो । ग्रुपभित्र हुने साइबर अपराध रोक्न उपयुक्त कदम नचालेमा सञ्चालक पनि कानुनी दायरामा तानिन सक्छन् । तसर्थ, डिजिटल दुनियाँमा सामाजिक र राष्ट्रिय मर्यादाको ख्याल गर्नु प्रत्येक प्रयोगकर्ताको परम कर्तव्य हो ।
संवेदनशील वर्गको संरक्षण र नैतिक मर्यादा
डिजिटल माध्यमको प्रयोग गर्दा समाजका संवेदनशील वर्गहरू जस्तै बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ । बालबालिकाको नग्न वा आपत्तिजनक तस्वीर/भिडियो आफ्नो मोबाइलमा राख्ने, डाउनलोड गर्ने वा सामाजिक सञ्जालमा सेयर गर्ने कार्य अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुन अनुसार अक्षम्य र सबैभन्दा गम्भीर साइबर अपराध हो। बालबालिकालाई प्रलोभनमा पारेर अनलाइन मार्फत गलत क्रियाकलापमा लगाउने प्रयासविरुद्ध कठोर सजायको प्रावधान छ ।
धेरै भ्यूज र लाइक पाउने लोभमा आफ्ना वा अरूका ससाना बालबालिका रोएको, डराएको वा उनीहरूमाथि खतरनाक प्र्याङ्क गरिएको भिडियो खिचेर अनलाइनमा हाँसोको पात्र बनाउनु बाल अधिकार र बाल मनोविज्ञान विरुद्धको कार्य हो । बालबालिकाको मन्जुरी बुझ्न नसक्ने उमेरमा उनीहरूको गोपनीयतालाई भाइरल बन्ने माध्यम बनाउनु नैतिक र कानुनी दुवै रूपमा गलत छ । त्यस्तै, अपाङ्गता भएका वा बोल्न र हिड्न गाह्रो हुने व्यक्तिहरूको हाउभाउको मजाक उडाई टिकटक बनाउनु गम्भीर साइबर बुलिङ हो ।
यौनजन्य दुर्व्यवहार, अश्लील सामग्रीको पोस्ट वा प्रयोगकर्ताको इच्छा विपरीत इनबक्समा नग्न तस्बिरहरू पठाउनु अनलाइन उत्पीडनको श्रेणीमा पर्दछ । पुराना प्रेम सम्बन्धका गोप्य तस्बिरहरू रिसको झोकमा इन्टरनेटमा सार्वजनिक गरेर बदला लिने कार्यले कतिपयको ज्यान समेत जाने गरेको छ । आत्महत्या वा आत्महानी गर्न लागेको दृश्य फेसबुक वा टिकटकमा लाइभ गर्नु वा अरूलाई आत्महत्या गर्न उक्साउने खालका टिप्पणी र खतरनाक च्यालेन्जहरू सञ्चालन गर्नु कानुन बमोजिम वर्जित छ ।
विद्यालय र कलेजका विद्यार्थीहरू मिलेर मेसेन्जर ग्रुपहरूमा ग्याङ बनाई अर्को विद्यालयका विद्यार्थी विरुद्ध संगठित रूपमा अश्लील गालीगलौज र ट्रोल गर्ने प्रवृत्तिले युवा वर्गमा मानसिक तनाव र डिप्रेसन बढाएको छ । कसैको संवेदनशील रोग लागेको मेडिकल रिपोर्ट उसको अनुमति बिना सार्वजनिक गरेर सामाजिक लाञ्छना लगाउनु स्वास्थ्य गोपनीयताको हनन हो । वैदेशिक रोजगारीमा दुःख पाएका वा अस्पतालमा रहेका नेपाली कामदारहरूको अनुमति बिना भिडियो खिचेर भावनात्मक व्यापार गर्नु पनि मानवता विरोधी कृत्य हो ।
अन्त्यमा, इन्टरनेटमा अरूले मेहेनत गरेर बनाएको ओरिजिनल भिडियो, फिल्मको क्लिप, साहित्य, कविता वा कलाकृति अनुमति र क्रेडिट बिना आफ्नो नाममा अपलोड गर्नु बौद्धिक सम्पत्ति र कपीराइटको उल्लंघन हो । सशुल्क एपहरूको क्र्याक भर्सन वा पाइरेटेड लिङ्कहरू बाढ्नु पनि चोरीकै रूप हो । डिजिटल संसारमा नैतिक मर्यादा भुलेर भाइरल हुने दौडमा लाग्नुले ढिलो वा चाँडो कानुनी फन्दामा पार्ने निश्चित भएकाले यस तर्फ युवा पुस्ता अत्यन्तै सचेत हुन जरुरी देखिन्छ ।
निष्कर्षमा, सामाजिक सञ्जाल र डिजिटल प्रविधि आफैमा खराब होइनन्, बरु यसको प्रयोग गर्ने हाम्रो तरिका र प्रवृत्तीले यसको सही वा गलत निर्धारण गर्दछ । इन्टरनेटको संसारमा सुरक्षा र मर्यादा कायम राख्नका लागि कानुनी ज्ञानको अहम् भूमिका हुन्छ । ‘मलाई कानुन थाहा थिएन’ भन्दैमा अपराधको सजायबाट बच्न नसकिने स्थापित कानुनी सिद्धान्तलाई सधै स्मरण गर्नुपर्दछ । सामाजिक सञ्जालमा गरिने एउटा सानो हेलचेक्र्याइ, एउटा गलत क्लिक वा सेयरले कसैको जीवन बर्बाद पार्न सक्छ र आफूलाई पनि अपराधीको श्रेणीमा उभ्याउन सक्छ ।
तसर्थ, डिजिटल शिक्षा र साइबर सचेतनालाई विद्यालय तहदेखि नै व्यापक बनाउनु आवश्यक छ । नागरिकहरूले मोबाइल चलाउँदा अरूको गोपनीयता, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र नैतिक मर्यादाको सधै कदर गर्नुपर्छ । प्रविधिको प्रयोग सिर्जनशीलता, ज्ञानको आदान–प्रदान र सकारात्मक परिवर्तनका लागि हुनुपर्छ, न कि कसैलाई ठेस पुर्याउन । हामी सबैले डिजिटल माध्यमको जिम्मेवार र अनुशासित प्रयोग गर्ने प्रतिज्ञा गरेमा मात्र एउटा सुरक्षित, सभ्य र अपराधमुक्त डिजिटल समाजको निर्माण सम्भव हुनेछ ।
(लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत र राजनीतिशास्त्रका अध्येता हुन्)








प्रतिक्रिया