७ श्रावण २०८३, बिहिबार

रामप्रसाद लोहारको ‘तीन जीवनको संगम’: आरन, लेखा र जापान

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कृष्ण पौडेल–

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका संकरपुरको एउटा साँघुरो गल्ली छ । गल्लीभित्र पसेपछि कानमा बज्न थाल्छ– फलाममा लाग्ने हथौडाको टकटक, आगोको सुस्साहट र पसिनाले रुझेका पिढीका सपना । यो कुनै कारखाना होइन, कुनै ठूलो उद्योग पनि होइन—यो हो एकजना युवाको आत्मा बोकेको आरन, जहाँ पसिनाको गन्ध छ, बुबाको संघर्षको तातो रङ छ र एउटा सानो गाउँको भविष्यका आशाहरू बलिरहेका छन् ।

२६ वर्षीय रामप्रसाद लोहार, संकरपुरका सन्तान । उनी न त सेलिब्रिटी हुन्, न त सामाजिक सञ्जालका स्टार । तर उनीभित्र एउटा यति ठूलो शक्ति पलाएको छ की, जसले अहिलेका धेरै युवालाई आत्मावलोकन गर्न बाध्य बनाउँछ । तीनवटा जीवनको धार एकै शरीरमा बगिरहेका छन् । बिहान पुर्खाको आरन, दिउँसो लेखा र साँझ जापान पुग्ने सपना ।

भालेको पहिलो बाससँगै रामप्रसादको आँखा खुल्छ । सूर्य नउदाउँदै उनी पस्छन् बुबाले थालेको आरनमा । हातमा हुन्छ, भुटो, साम्पा, लोहो र शताब्दी पुराना सपनाको जिम्मेवारी ।

उनको बुबाले ६८ वर्षसम्म यो आरन थामे । छोरालाई हेरिरहन्थे, कोदालो बनाउँदै, बन्चरो घिसार्दै, खुकुरी छिनार्दै । फलाम तात्थ्यो, तर बुबाको मन कहिल्यै चिसिँदैनथ्यो, उनी विगत सम्झिँदै भन्छन् ।

बुबाको हेराइमा सपना थियो, छोराले हात समाउँछ कि भनेर । आज त्यो सपना रामप्रसादले जिउँदो बनाएका छन् । तर उनले यसलाई पुरानै स्वरूपमा थामेनन् । आधुनिक बजारको माग अनुसार अब आरनमा बनिन्छ घर सजाउने सामाग्री, कलाकारिता मिसिएको फलामको आकृति र मेला–प्रदर्शनीमा चम्किने वस्तुहरू । यो आरन अब सामान बनाउने मात्र होइन, सम्मान बनाउने ठाउँ हो,उनी गहकिलो स्वरमा भन्छन् ।

दिउँसो हुन्छ, आरनको तातो छोडेर उनी सिधै लाग्छन् प्यारा माउन्ट एकेडेमी । त्यहाँ उनी लेखा सहायक हुन् । संस्थाको हिसाब–किताब मिलाउने, खर्चको रेकर्ड राख्ने, बिल तयार गर्ने ।

आरनमा आगोसँग खेलेको हात कम्प्युटरको किबोर्डमा नथाकी चल्छ । उनको अनुहारमा थकान हुँदैन, किनकि थकाइभन्दा ठूलो छ उनको सपना । ‘आरनले रगतमा पसिना मिसायो, लेखाले मस्तिष्कमा अनुशासन । म यी दुवैलाई सँगै बोकेर बाँच्न चाहन्छु’–उनी भन्छन् ।
कसैले दुई फरक पेसा एकसाथ बोक्न सक्दैन भन्ने भ्रमलाई रामप्रसादले गलत साबित गरेका छन् ।

जब साँझ पर्छ, धेरैजसो युवाले विश्राम गर्छन् । तर रामप्रसादको साँझ सुरु हुन्छ—पढाइसँग । उनले हातमा लिन्छन् जापानी भाषा सिक्ने किताब । जापान जाने सपना छ, तर सपना पैसा कमाउने मात्र होइन, त्यहाँको प्रविधि, सीप र अनुशासन सिकेर फर्किने। अनि त्यही आरनमा केही नयाँ सुरुवात गर्ने ।

नेपालमै सम्भावना छ, म विश्वास गर्छु । तर प्रविधिसँग मेल खाएको परम्परा अझ बलियो हुन्छ,उनी भन्छन् । उनको सपना स्पष्ट छ । जापान गएर आधुनिक सीप सिक्ने, फर्केर आरनलाई शिल्प केन्द्र बनाउने, जहाँ फलाम मात्र होइन, भविष्य पनि बनाइन्छ ।

आजको युवा पुस्ताले आरनलाई हेप्छ, लाज मान्छ । तर रामप्रसादको सोच फरक छ । उनले आरनलाई लाजको होइन, गौरवको चिह्न बनाएका छन् ।

उनका हातबाट बनेका सामान अब प्रदर्शनी, मेला र बजारमा बिक्री हुन्छन् । ग्राहक आउँछन् । के यो कस्तो डिजाइन हो भनेर चकित हुन्छन् । अनि जब थाहा पाउँछन्, संकरपुरको आरनबाट बनेको हो—अझै चकित हुन्छन् ।

आज संकरपुरको गल्ली हुँदै जाँदा आरनको आवाज आउँछ । त्यो आवाज मात्र फलामको होइन । त्यो आवाज हो आशाको, साहसको, सम्मानको । त्यो आवाज हो रामप्रसादको ।

उनको जीवन हामी सबैका लागि एउटा गहिरो सन्देश हो । परम्परा छाड्ने होइन, उसलाई समयसापेक्ष बनाउने हो । आधुनिकता र मौलिकताको संगम रामप्रसादजस्तै युवाबाट सुरु हुन्छ ।