
काठमाडौं, २१ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सडक विभागको गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को ? हतार, विस्तारै गरौँला नि !’ भन्ने नसोची बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकिया अघि बढाउन निर्देशन दिएका हुन् ।
आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिए ।
‘आर्थिक वर्षको अन्त्यतिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर राम्रो परिणाम निस्कदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यसमध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठूलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो ।
थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्ने भन्दै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन आग्रह समेत गरे । निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने धारणा राख्दै उनले भने, ‘छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’
वर्षायाम सुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोतसाधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ ।








प्रतिक्रिया