काठमाडौं । द पोस्टकार्ड होटलले नोभेम्बर २०२६ मा द पोस्टकार्ड अन द राप्ती रिभर चितवन सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । राप्ती नदीको सुन्दर घुम्तीस्थित होटलबाट वरपरका जंगल र पहाडहरूको सुन्दर दृश्य देख्न सकिन्छ ।
२२ वटा फराकिला कोठा तथा सुइट रहेको यो लक्जरी रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । दक्षिण एसियाकै महत्वपूर्ण वाइल्डलाइफ गन्तव्यमध्ये एक मानिने चितवनमा होटल सञ्चालनसँगै द पोस्टकार्ड होटल भारत, भुटान र श्रीलंकापछि चौथो देशका रूपमा नेपाल प्रवेश गर्नेछ ।
सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जले नेपालको तराई क्षेत्रका बाँकी रहेका महत्वपूर्ण प्राकृतिक पारिस्थितिक प्रणालीमध्ये एकको संरक्षण गर्दै आएको छ । यहाँका विशाल घाँसे मैदान, घना सालका जंगल र नदी आसपासका पारिस्थितिक प्रणालीले विभिन्न प्रजातिका वन्यजन्तुलाई आश्रय दिएका छन् । निकुञ्जमा एकसिंगे गैँडा, बाघ, चितुवा, भालु र लोपोन्मुख घडियाल गोही पाइन्छन् ।
सन् २०२१ मा गरिएको राष्ट्रिय गैँडा गणनाअनुसार चितवन र आसपासका क्षेत्रमा ६९४ वटा गैँडा रहेका थिए । यसले चितवनलाई नेपालमा गैँडा संरक्षणको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित गरेको छ ।
त्यस्तै, ५२५ भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएकाले चितवन चराप्रेमीहरूका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।
द पोस्टकार्ड अन द राप्ती रिभर यस अनुपम प्राकृतिक वातावरणलाई पाहुनाको बसाइको अभिन्न हिस्सा बनाउने उद्देश्यले तयार गरिएको होटलले जनाएको छ ।

होटलका अनुसार यहाँ १३०० वर्गफिटदेखि सुरु हुने २२ वटा फराकिला कोठा तथा सुइट छन् । प्रत्येक कोठामा नदी वा जंगलको दृश्य देखिने प्राइभेट सिट-आउट उपलब्ध छ । नदी किनारमा गैँडा र गोही देखिनु यहाँका लागि नौलो होइन । भाग्यले साथ दिएमा बाघ वा भालुजस्ता कमै देखिने वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ । अनुकूल समयमा पाहुनाले आफ्नै कोठाबाट वन्यजन्तुको गतिविधि नियाल्ने रोमाञ्चक अनुभव लिन सक्नेछन् । ५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको दुई बेडरुमसहितको प्रेसिडेन्सियल सुइटमा पर्याप्त खुला ठाउँ र प्राइभेसीका साथै आफ्नै स्विमिङ पुल समेत रहेको छ । होटल प्रवेश गर्दा पाहुनाले स्तुपालाई केन्द्रमा राखेर निर्माण गरिएको टेम्पल कोर्ट हुँदै प्रवेश गर्नेछन् । होटलको वास्तुकला पनि यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक परिवेश झल्किने गरी तयार गरिएको छ ।
होटलको डाइनिंग र मनोरञ्जनका सुविधालाई पनि स्थानीय परिवेशसँग जोडिएको छ । जंगलको दृश्य देखिने अग्लो डेकमा रहेको ‘ट्री टप्स’ होटलको इनडोर तथा आउटडोर रेस्टुरेन्ट र बार हो । यहाँ द पोस्टकार्डको विशेष ‘एनिटाइम ब्रेकफास्ट’ सुविधाअन्तर्गत पाहुनाले आफूलाई अनुकूल हुने समयमा बिहानको खाना लिन सक्नेछन् ।
साँझ परेपछि ‘ट्राइबल सर्कल’मा पाहुनाहरू आगो ताप्दै खुला आकाशमुनि बार्बेक्युको आनन्द लिन एकै ठाउँमा भेला हुन सक्छन् । तराई क्षेत्रका आदिवासी थारू समुदायको परम्परागत खानपानबाट प्रेरित यस विशेष अनुभवले स्थानीय संस्कृति र स्वादसँग परिचित गराउनेछ । होटलमा स्विमिङ पुल, स्पा ट्रिटमेन्ट रुम, स्टिम रुम तथा साउना पनि उपलब्ध छन् । स्विमिङ पुलनजिकै रहेको फराकिलो अग्लो भ्यु डेकबाट वरपरको प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट वन्यजन्तु देखिने सम्भावना पनि रहन्छ ।
होटलबाहिर पनि पाहुनाले विभिन्न गतिविधिमार्फत चितवनको प्राकृतिक तथा सांस्कृतिक सम्पदा अनुभव गर्न सक्नेछन् । प्रकृतिविद्को मार्गदर्शनमा जीप सफारी, जंगलमा पैदल यात्रा, राप्ती नदीमा डुंगा सयर तथा चरा अवलोकनजस्ता गतिविधि सञ्चालन गरिनेछन् । नजिकैका थारू बस्तीको भ्रमणले यस क्षेत्रको विशिष्ट सांस्कृतिक सम्पदा र पुस्तौँदेखि जंगल तथा नदीसँग जीवन बिताउँदै आएका स्थानीय समुदायको जीवनशैली बुझ्ने अवसर प्रदान गर्नेछ ।
प्राकृतिक रूपमा निकै समृद्ध क्षेत्रमा अवस्थित भए पनि चितवन पुग्न सहज छ । काठमाडौंको यात्रापछि हवाईमार्गबाट करिब २५ मिनेटमा भरतपुर विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट होटलसम्म गाडीमा करिब ४० मिनेट लाग्छ ।
द पोस्टकार्ड होटलका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले भने, “विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरू चल्तीका ट्राभल म्यापभन्दा बाहिरका ठाउँहरूमा भेटिन्छन् भन्ने हामीले विश्वास गर्दै आएका छौँ । हाम्रो उद्देश्य त्यस्ता गन्तव्यको मौलिक पहिचानलाई कायम राख्दै, तिनको विशेषता झल्काउने होटलमार्फत ती ठाउँलाई विश्वसामु चिनाउनु हो । द पोस्टकार्ड अन द राप्ती रिभरप्रति हाम्रो आकर्षणको मुख्य कारण सवाना र उनका बुबा सुरजले यस परियोजनाप्रति देखाउनुभएको दृढ प्रतिबद्धता हो । नेपालको पहाडी भूभागभन्दा बाहिर रहेको प्राकृतिक सौन्दर्यलाई पनि विश्वसामु चिनाउने र यहाँको प्रकृति, वन्यजन्तु तथा स्थानीय समुदायको सम्मान गर्ने परियोजना निर्माण गर्ने उहाँहरूको सोच हाम्रो दृष्टिकोणसँग निकै मिल्दोजुल्दो छ । हामीले विश्वसामु चिनाउन चाहेको गन्तव्य पनि यस्तै हो, जहाँ सुन्दर होटलमा बस्ने अनुभव मात्र होइन, विश्वले जान्न र अनुभव गर्नुपर्ने एउटा विशेष भूभागसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने अवसर पनि मिलोस् ।”
द पोस्टकार्ड अन द राप्ती रिभरकी फाउन्डर सवाना वैद्य बस्न्यातले भनिन्, “नेपालको नाम सुन्नासाथ धेरै मानिसले यहाँका हिमाल सम्झन्छन् । तर नेपालको तराईमा पनि जंगल, नदी, वन्यजन्तु र यहाँका मानिसको आफ्नै छुट्टै र अनुपम संसार छ । चितवन त्यसैको सबैभन्दा अमूल्य हिस्सामध्ये एक हो । यसको सुन्दरता विश्वसामु चिनाउन पाउनु मेरा लागि निकै महत्वपूर्ण कुरा हो । मेरा बुबा सुरज र मैले द पोस्टकार्ड अन द राप्ती रिभरलाई साकार रूप दिन वर्षौँदेखि मेहनत गर्दै आएका छौँ । पहिलोपटक नदीको यो सुन्दर घुम्ती, वरपरको जंगल र टाढासम्म फैलिएका पहाड देख्दा नै हामीले एउटा विशेष ठाउँ भेट्टाएको महसुस गरेका थियौँ । हामी यस क्षेत्रमा केवल एउटा होटल निर्माण गर्न चाहँदैनथ्यौँ, बरु यहाँको प्राकृतिक परिवेशसँग घुलमिल हुने र त्यसैको हिस्सा बन्न सक्ने ठाउँ बनाउन चाहन्थ्यौँ । यो सोचलाई साकार पार्न बुबाको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । उहाँसँग मिलेर यति विशेष होटल निर्माण गर्नु मेरा लागि निकै यादगार यात्रा बनेको छ । मेरा लागि यो प्रोजेक्ट हस्पिटालिटी सेवामा मात्र सीमित छैन । यो संरक्षणमा आधारित पर्यटनको अवधारणा हो, जसले पर्यटन र प्रकृतिलाई एकअर्कासँग सन्तुलन कायम गर्दै अघि बढ्ने बाटो देखाउँछ ।”
सवाना अझै थप्छिन्, “द पोस्टकार्डले पनि अनुपम गन्तव्यलाई तिनको मौलिक पहिचान कायम राख्दै अनुभव गर्नुपर्छ भन्ने हाम्रो विश्वासलाई आत्मसात् गरेको छ । यो होटल मेरा लागि निकै व्यक्तिगत र भावनात्मक रूपमा जोडिएको प्रोजेक्ट हो । यसको जन्म नेपालको प्राकृतिक सम्पदाप्रतिको हाम्रो माया र त्यसलाई विश्वसामु चिनाउने चाहनाबाट भएको हो । यसले मानिसहरूलाई तराईको सुन्दरता खोज्न, चितवनको विशेष अनुभव लिन र यी प्राकृतिक क्षेत्रको वास्तविक महत्व पर्यटकको सङ्ख्याले नभई भावी पुस्ताका लागि हामीले गर्ने तिनको संरक्षणमा निर्भर हुन्छ भन्ने कुरा बुझ्न प्रेरित गर्नेछ भन्ने आशा गरेकी छु ।”
नेपालमा होटल सञ्चालनको घोषणा भएको वर्ष द पोस्टकार्ड होटलका लागि निकै महत्वपूर्ण र उपलब्धिमुलक रह्यो । यस ब्राण्डले सन् २०२६ को सेप्टेम्बरमा माल्दिभ्समा आयोजित ‘वल्र्ड ट्राभल अवार्ड्स एसिया, ओसियानिया एन्ड इन्डियन ओसन गाला समारोह’ मा १२ वटा अवार्ड प्राप्त गरेको थियो । यस वर्ष एसियाका अन्य कुनै पनि होटल ब्रान्डले यति धेरै अवार्ड प्राप्त गरेका छैनन् । लगातार अर्को वर्ष पनि ‘एसियाज लिडिङ बुटिक होटल ब्रान्ड’को प्रतिष्ठित उपाधि जित्न सफल भएको ब्रान्डले नेपालमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ ।
द पोस्टकार्ड अन द राप्ती रिभर ब्रान्डको वन्यजन्तु तथा प्राकृतिक गन्तव्यमा आधारित होटल संग्रहमा द पोस्टकार्ड गिर वाइल्डलाइफ स्याङ्चुरीसँग जोडिनेछ । आगामी दिनमा जवाइ, कान्हा र पेन्चमा पनि नयाँ होटल सञ्चालन गर्ने योजना रहेको छ । यससँगै दक्षिण एसियाका केही अनुपम प्राकृतिक गन्तव्यमा ब्रान्डको उपस्थिति थप विस्तार हुनेछ ।
द पोस्टकार्ड अन द राप्ती रिभरले प्रकृतिसँग नजिक रहेर लक्जरी हस्पिटालिटी सेवाको अनुभव प्रदान गर्नेछ । यहाँ सुइटको मूल्य प्रतियुनिट नेपाली रुपैयाँ १ लाख ३६ हजारदेखि सुरु हुनेछ । उक्त मूल्यमा होटलको विशेष ‘एनिटाइम ब्रेकफास्ट’ तथा पाहुनाको सुविधाअनुसार जुनसुकै समयमा चेक-इन र चेक-आउट गर्न सकिने सुविधा समावेश छ ।












प्रतिक्रिया