काठमाडौं । नेपाल टेलिकमले कम्पनीको खरिद प्रक्रियालाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै ती समाचार भ्रामक र अपुष्ट रहेको दाबी गरेको छ।
कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय खरिद प्रक्रियाका विषयमा सार्वजनिक भइरहेका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। कम्पनीले प्रचलित ऐन, कानुन तथा सुशासनका मान्यताअनुसार खरिद प्रक्रिया अघि बढाउँदै आएको स्पष्ट पारेको छ।
नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति प्राप्त संस्था हो। देशभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको कम्पनीले आफ्नो संस्थागत प्रतिष्ठा, जनविश्वास र ग्राहकको भरोसालाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
कम्पनीका अनुसार दूरसञ्चार सेवालाई सस्तो, भरपर्दो र सर्वसुलभ बनाउने उद्देश्यसहित सहरी क्षेत्रदेखि विकट स्थानसम्म सेवा विस्तार तथा प्रविधि स्तरोन्नतिका काम भइरहेका छन्। नयाँ प्रविधिको अवलम्बन, सेवाको गुणस्तर सुधार, सरकारका नीतिगत लक्ष्य पूरा गर्ने र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको टेलिकमको भनाइ छ।
खरिद प्रक्रियाबारे स्पष्ट पार्दै कम्पनीले आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको मानक बोलपत्र कागजात Standard BID Document का आधारमा आवश्यक प्रक्रिया पूरा गर्ने गरेको जनाएको छ।
यस्तै, कम्पनीको खरिद प्रक्रियालगायतका विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आवश्यक आधिकारिक जानकारी लिन सकिने व्यवस्था रहेको पनि टेलिकमले जनाएको छ। त्यसका लागि प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखामार्फत विवरण उपलब्ध गराउँदै आएको भन्दै कम्पनीले सम्बन्धित निकायसँग सम्पर्क गरेर तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
कम्पनीले अपुष्ट तथा भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै संस्थाको प्रतिष्ठा, विकास र हितमा सकारात्मक सहयोग गर्नसमेत सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा कम्पनीले पारदर्शिता र सुशासनका स्थापित मान्यतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।












प्रतिक्रिया