१८ कार्तिक २०८३, बुधबार

सन्तोष भट्टराई प्रवासी नेपाली मञ्चको सचिवमा उम्मेदवार, यस्ता छन् एजेण्डा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जर्मनी निवासी सन्तोष भट्टराईले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको सचिव पदमा उम्मेदवारी दिएका छन्। उनी जर्मनीका संस्थापक अध्यक्षसमेत हुन्।

लामो समयदेखिको सांगठनिक अनुभव, निरन्तर सक्रियता र प्रवासी नेपाली समुदायमा पुर्‍याएको योगदानका आधारमा संगठनको नेतृत्व तहमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित आफूले सचिव पदमा उम्मेदवारी दिएको भट्टराईले बताएका छन्।

आफ्नो उम्मेदवारीमार्फत संगठन विस्तार, सदस्यता अभिवृद्धि र प्रवासी नेपालीका साझा मुद्दाहरूको प्रभावकारी सम्बोधनलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन्।

भट्टराईले वंशजको नागरिकताको निरन्तरता, प्रवासी नेपालीको लगानी सुरक्षा, प्रविधिमैत्री संगठन निर्माण तथा डिजिटल कार्यालयको विकासलाई आफ्नो प्रमुख कार्ययोजनाका रूपमा अघि सारेका छन्। त्यसैगरी परोपकारी र श्रमिकमैत्री संगठन निर्माणमा पनि जोड दिएका छन्।

‘सुखमा मात्र होइन, दुःखमा पनि खोजिने संस्था, समस्यामा परेका प्रवासीहरूको भरोसाको केन्द्र र असहाय तथा पीडितहरूको सहारा बन्न सक्ने संगठन निर्माणका लागि मेरो सक्रियता र प्रतिबद्धता रहनेछ,’ उनले आफ्नो उम्मेदवारी अपिलमा भनेका छन्।

संगठनलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउन आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै भट्टराईले अधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरूसँग अमूल्य मत, साथ र सहयोगको अपेक्षा गरेका छन्।

उनले आफूलाई प्राप्त हुने विश्वास र समर्थनलाई संगठनप्रतिको जिम्मेवारी, इमानदारी र परिणाममुखी काममार्फत प्रमाणित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।