काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा प्रभुराम थापाले उम्मेदवारी घोषणा गरेका छन्। लामो राजनीतिक, सांगठनिक, ट्रेड युनियन आन्दोलन तथा सामाजिक सेवाको अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका हुन्।
नेपालमा रहँदा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध भएर काम गरेका थापा सन् २००८ देखि अमेरिकामा रहेर प्रवासी नेपालीको संगठन निर्माण तथा सामाजिक गतिविधिमा सक्रिय छन्। उनी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक हुन्। मञ्चको संस्थापक उपसचिवसमेत रहेका थापा हाल अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभागका उपप्रमुखको जिम्मेवारीमा छन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ। एमालेकी वरिष्ठ नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने अधिवेशन भोलिसम्म सञ्चालन हुनेछ। अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
अध्यक्ष पदका उम्मेदवार थापाले संगठनलाई एकताबद्ध, व्यवस्थित, पारदर्शी र आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्ययोजना अघि सारेका छन्। विश्वभर छरिएर रहेका नेपालीको साझा आवाजका रूपमा मञ्चलाई स्थापित गर्ने उनको लक्ष्य छ।

लमजुङको गाउँबाट सुरु भएको राजनीतिक यात्रा
वि.सं. २०२८ सालमा लमजुङ जिल्लाको साविक मोहोरिया, हाल राइनास नगरपालिका-९ मा जन्मिएका थापा विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी खेलकुद क्षेत्रमा पनि परिचित छन्। उनी करातेका दोस्रो डान ब्ल्याक बेल्ट हुन् भने नेपाल आइकिडो राष्ट्रिय संघका संस्थापक उपाध्यक्षसमेत हुन्।
वि.सं. २०३९ सालदेखि अनेरास्ववियुमा आबद्ध भएर विद्यार्थी राजनीतिमा सक्रिय भएका थापा क्रमशः ट्रेड युनियन आन्दोलन र पार्टीको संगठनात्मक गतिविधिमा जोडिँदै गए। वि.सं. २०४७ सालमा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको अध्यक्ष निर्वाचित भएका उनी २०५१ सालमा नेपाल स्वास्थ्य स्वयंसेवी होमियोप्याथिक मजदुर युनियन (नेस्वाहोमयू) को केन्द्रीय सदस्य बनेका थिए।
त्यसपछि संगठनको सहसचिव, सचिव हुँदै जिफन्ट राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेका छन्।
आन्दोलन र संघर्षको अनुभव
थापाको राजनीतिक यात्रा संगठनात्मक जिम्मेवारीमा मात्र सीमित रहेन। पञ्चायतविरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन, कर्मचारी आन्दोलन तथा विभिन्न राजनीतिक संघर्षमा उनको सक्रिय सहभागिता रह्यो।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा सुरक्षाकर्मीको गोली लागेर उनी घाइते भएका थिए। आन्दोलनका क्रममा पटक–पटक घाइते तथा गिरफ्तारसमेत भएका थापाले आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण समय लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा बिताएका छन्।
विद्यार्थी आन्दोलनदेखि ट्रेड युनियनसम्मको अनुभवले श्रमिक अधिकार, सामाजिक न्याय र संगठनात्मक एकतालाई उनको राजनीतिक यात्राको महत्त्वपूर्ण आधार बनाएको छ।
अमेरिकामा संगठन निर्माणदेखि अन्तर्राष्ट्रिय नेतृत्वसम्म
सन् २००८ देखि अमेरिकामा रहेर राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय थापाले प्रवासी नेपालीलाई संगठित गर्ने अभियानमा भूमिका निर्वाह गर्दै आएका छन्। उनले यूएनडीएफको डीसी मेट्रो कमिटी सचिवालय सदस्यका रूपमा समेत काम गरेका थिए।
सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट सचिव निर्वाचित भएका थापा सन् २०१७ को राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनले प्रवासी नेपाली एकता मञ्च अमेरिका तथा प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय कमिटी अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक रहेका थापाले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्। मञ्चको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय अधिवेशनमा एकता र सर्वसम्मत नेतृत्व चयनका लागि सहमति निर्माणमा पनि उनले भूमिका खेलेका थिए।
हाल अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुखका रूपमा कार्यरत थापा दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको तयारी तथा संगठनात्मक गतिविधिमा पनि सक्रिय छन्।
व्यवसायसँगै सामाजिक सेवामा सक्रिय
राजनीतिक तथा संगठनात्मक गतिविधिका अतिरिक्त थापा व्यवसाय र सामाजिक सेवामा पनि सक्रिय छन्। नेपालमा रेस्टुरेन्ट तथा विद्यालय सञ्चालन गरेको अनुभव भएका उनी हाल अमेरिकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्।
सामाजिक क्षेत्रमा उनी बाना (बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका) का बोर्ड अफ ट्रस्टी अध्यक्ष, लायन्स क्लब्स इन्टरनेसनलअन्तर्गत बाल्टिमोर नेप्लिज क्लबका प्रथम उपाध्यक्ष तथा भिजन क्लब इन्टरनेसनलका निर्देशकका रूपमा आबद्ध छन्।
त्यसैगरी उनी ब्लड डोनर एसोसिएसनका आजीवन सदस्य, जिफन्ट सपोर्ट ग्रुप अमेरिकाका प्रमुख सल्लाहकार र लमजुङ अमेरिका सेवा समाजका प्रमुख सल्लाहकारसमेत हुन्।
खेलकुद, श्रमिक संगठन, प्रवासी नेपाली समुदाय र सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएका थापाले आफ्नो अनुभवलाई अब अन्तर्राष्ट्रिय संगठनको संस्थागत विकासमा केन्द्रित गर्ने बताएका छन्।
अध्यक्ष निर्वाचित भए १० प्राथमिकतामा काम गर्ने प्रतिबद्धता
अध्यक्ष पदमा निर्वाचित भए आगामी चार वर्ष संगठनको संस्थागत विकास र प्रवासी नेपालीका साझा सवाललाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता थापाले व्यक्त गरेका छन्। उनले संगठनको एकता, संस्थागत पारदर्शिता, प्रवासी नेपालीको अधिकार र मातृभूमिको समृद्धिमा प्रवासको ज्ञान, सीप तथा पुँजी परिचालनलाई आफ्नो नेतृत्वका मुख्य आधार बनाएका छन्।
थापाले अघि सारेका प्रमुख कार्ययोजना यस्ता छन्-
१. संगठन विस्तार र सुदृढीकरण : विश्वभरका राष्ट्रिय तथा महादेशीय कमिटीलाई व्यवस्थित र प्रभावकारी बनाउँदै नयाँ पुस्ता, श्रमिक, व्यवसायी, विद्यार्थी तथा बुद्धिजीवीलाई संगठनमा जोड्ने।
२. आफ्नै भवन निर्माण तथा खरिद : प्रवासी नेपाली मञ्चको संस्थागत कार्यालयका लागि आफ्नै भवन खरिद गर्ने र संगठनलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने।
३. कानुनी दर्ता र संस्थागत पारदर्शिता : अन्तर्राष्ट्रिय, महादेशीय तथा राष्ट्रिय कमिटीलाई सम्बन्धित देशको कानुनअनुसार दर्ता गर्ने पहल गर्दै आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने।
४. श्रमिक अधिकारको संरक्षण : नेपाल तथा विदेशमा रहेका नेपाली श्रमिकको उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण र सुरक्षित कार्यस्थलका लागि प्रभावकारी पैरवी गर्ने।
५. वंशजको नेपाली नागरिकताको निरन्तरता : वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता र त्यससँग जोडिएका अधिकार संरक्षणका लागि नीतिगत पहल गर्ने।
६. प्रवासी नेपालीको मतदान अधिकार : विदेशमा रहेका नेपाली नागरिकलाई नेपालको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग पहल गर्ने।
७. नेपाली भाषा, कला र संस्कृतिको संरक्षण : विदेशमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, कला र मौलिक पहिचानसँग जोड्ने।
८. प्रवासको ज्ञान, सीप र पुँजी नेपालमा परिचालन : विदेशमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने वातावरण निर्माणका लागि पहल गर्ने।
९. युवा नेतृत्व विकास : नयाँ पुस्तालाई संगठनमा आकर्षित गर्दै राजनीतिक तथा सांगठनिक प्रशिक्षण, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।
१०. सामूहिक नेतृत्व र आर्थिक पारदर्शिता : संगठनको आर्थिक तथा सांगठनिक प्रतिवेदन नियमित सार्वजनिक गर्ने, विधि र विधानअनुसार निर्णय प्रणाली सञ्चालन गर्ने र नेतृत्वलाई सदस्यहरूप्रति जवाफदेही बनाउने।
थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा पनि संगठनको संस्थागत विकास, एकता र प्रवासी नेपालीका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
विश्वका विभिन्न मुलुकमा रहेका नेपाली श्रमिक, व्यवसायी, विद्यार्थी तथा नयाँ पुस्ताका प्रवासी नेपालीलाई एउटै संगठनात्मक संरचनामा जोड्दै उनीहरूका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्ने उनको लक्ष्य छ।
आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी चार वर्षको कार्यदिशासमेत तय गर्नेछ। यस्तो अवस्थामा थापाले अघि सारेका प्रतिबद्धता र कार्ययोजनालाई अधिवेशनका प्रतिनिधिहरूले कसरी मूल्यांकन गर्छन् भन्ने विषय चासोको रूपमा रहेको छ।












प्रतिक्रिया