१८ कार्तिक २०८३, बुधबार

इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको घरमा कसरी पुग्यो ? : विश्वप्रकाश शर्मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी हिरासतमा रहेका भनिएका विचौलिया इनम सापकोटाको मोबाइल फोन प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार कुमार बेनसम्म पुगेको विषयलाई नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले गम्भीर प्रश्नका रूपमा उठाएका छन्। प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको घरमा कसरी पुग्यो र त्यहाँ त्यस अवधिमा के भयो भन्नेबारे उनले सरकारसँग जवाफ मागेका हुन्।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विशेष बैठकपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले सापकोटाको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निवासमा पुगेको विषयमा सञ्चारमाध्यममा आएका समाचारको प्रसंग कोट्याउँदै अनुसन्धान प्रक्रियामाथि प्रश्न गरे।

उनले प्रहरीको नियन्त्रणमा रहेको मोबाइल अर्को व्यक्तिको घरसम्म पुग्नु सामान्य विषय नभएको टिप्पणी गरे। मोबाइल त्यहाँ पुर्‍याउनुको कारण के थियो, त्यस अवधिमा के गतिविधि भए र कुनै महत्त्वपूर्ण प्रमाण हटाउने प्रयास गरिएको थियो कि थिएन भन्नेबारे उनले प्रश्न उठाए।

‘एक जना विचौलियाको मोबाइल प्रहरीले कब्जा गरिसकेपछाडि प्रधानमन्त्रीको सल्लाहकारकोमा पुगेको भनेर तपाईहरूले समाचार लेख्नुभएको छ,’ वरिष्ठ उपसभापति शर्माले प्रश्न गरे, ‘किन पुग्यो ? त्यो अवधिमा त्यहाँ के भयो ? त्यहाँ त्यस्तो कुन तथ्य मेटाउनु थियो ? यो कुन विधि, कुन पद्दति र कुन मर्यादाबमोजिमको अनुसन्धान प्रक्रिया हो ?’

शर्माले यस घटनालाई अनुसन्धानको विधि, प्रक्रिया र मर्यादासँग जोड्दै सम्बन्धित निकायले यसको स्पष्ट जवाफ दिनुपर्ने बताए। प्रहरी अनुसन्धानमा रहेका सामग्री र प्रमाणको सुरक्षा कसरी गरियो भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने उनको माग थियो।

यसैबीच, कांग्रेसले पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न र आरोपहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। विशेष बैठकले पार्टी तथा नेतृत्वलाई लक्षित गरी सार्वजनिक भएका आरोप, अडियो र प्रचार सामग्रीको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र र विश्वसनीय अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको शर्माले जानकारी दिए।

उनले कांग्रेस आफ्ना गतिविधि र नेतृत्वबारे उठ्ने प्रश्नको सामना गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक परे जुनसुकै प्रकारको छानबिनबाट पछि नहट्ने बताए। पार्टीमाथि लगाइएका आरोपलाई नियोजित र आधारहीन भन्दै उनले त्यसका पछाडि रहेका उद्देश्य र संलग्न व्यक्तिहरू पनि क्रमशः सार्वजनिक हुने दाबी गरे।

शर्माले सुनकोशी मरिन डाइभर्सन आयोजनासँग सम्बन्धित ठेक्का प्रकरणमा कर्मचारी हटाइएको विषयलाई पनि आपत्तिजनक रूपमा प्रस्तुत गरे। उनले सरकारी कार्यालयको कामकारबाही र कर्मचारीमाथिको व्यवहारबारे प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

कांग्रेसले पछिल्ला घटनाक्रमलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै शर्माले वैधानिकताको विवाददेखि सरकारी निर्णय र अनुसन्धान प्रक्रियासम्मका विषयमा पारदर्शिता कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।