
काठमाडौं, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजना सौर्य विद्युत् परियोजनाको आज उद्घाटन गर्दैहुनुहुन्छ ।
झापाको शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साँढे १० बजे झापा जाँदै हुनुहुन्छ ।
एमालेबाट झापा निर्वाचन क्षेत्र–४ मा निर्वाचित सांसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैयाँ रहेको छ ।
निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पूरा गर्न सहयोगी हुने साँवाले बताउनुभयो । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।
दुई वर्ष अघि निर्माण सुरु गरिएको परियोजना द्रुतगतिमा सम्पन्न भएको साँवाले बताउनुभयो । यस परियोजना वैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ । ‘वैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुन्छ’ साँवाले भन्नुभयो ‘अन्य ठाउँमा यस्तो परियोजना सञ्चालन गर्नेहरुका लागि यो एउटा नमुना हो ।’
यो परियोजना निर्माणका लागि ७५ प्रतिशत रकम माछापुच्छ्र्रे बैंक र हिमालयन बैंकले लगानी गरेको छ ।
सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्न सकिन्छ । परियोजनाको खरिद बिक्री सम्झौता २५ वर्ष हुने छ ।
परियोजनाको नमूना परीक्षण पनि भइसकेको छ ।
अध्यक्ष ओली परियोजनाको उद्घाटन गरेर आजै काठमाडौं फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया