
काठमाडौं, २२ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति निकै कहालीलाग्दो रहेको तथ्य उजागर गर्नुभएको छ ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले अहिले देश मल्टी अर्गान फेलियरको अवस्थामा पुगेको तथ्यांक पत्रकारसमक्ष सुनाउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताउनुभयो । यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एमालेले संसद अधिवेशनमा जनजीविकाका पक्षमा आवाज सशक्त रूपमा उठाउने बताउनुभयो ।

यसैगरी, स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले मिसन ८४ एमालेको स्पष्ट बहुमतका लागि भएकाले त्यसमा लाग्न आग्रह गर्नुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अखण्ड भण्डारी, माधव नेपाल, फणिदेव महत, महेश केसी, यसिमा महत, काजल तामाङलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्वु र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकारहरू डा। महेन्द्र विष्ट, निर्मला शर्मा, रघु मैनाली लगायतले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया