
बर्दिया, २२ माघ । टीकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती बजारमा अवस्थित पद्म प्रकाशेश्वर महादेव मन्दिरमा काठमाडौंका श्रेष्ठ दम्पतिले सुनको बेलपत्र चढाउनुभएको छ । परिवारमा गरिएको भाकल पूर्ण भएपछि उहाँहरुले शिवलिङगमा स्वर्ण विल्वपत्र अर्पण गर्नुभएको हो ।
महादेव मन्दिरमा काठमाडौंका श्रेष्ठ दम्पतिले एकलाख रुपैयाँ भन्दा बढीको सुनको बेलपत्र चढाउनुभएको हो । काठमाडौं बूढानीलकण्ठ निवासी किर्तन श्रेष्ठको घरमा जन्मिएको सन्तानहरुमा आँखामा समस्या हुने गर्दथ्यो । जुन परिवारमा वंशाणुगत समस्या थियो ।
यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामनाका साथ श्रेष्ठ दम्पतीले केही वर्ष अघि शिव मन्दिरमा पूजा अर्चना गरी भाकल गर्नुभएको थियो । भाकल पश्चात पछिल्लो सन्तान छोराको आँखामा समस्या नदेखिएकोले दम्पती खुसी हुँदै सपरिवार काठमाडौंबाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको श्रेष्ठले बताउनुभयो ।
कैलालीको सत्तीमा रहेको शिव मन्दिर स्थापनाको यकिन तिथि मिति थाहा नभएपनि मन्दिर प्राचिन भएको जनविश्वास छ । त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्नीको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात मातृहत्या पापबाट मुक्ति हुन मन्दिर स्थापना गरी पूजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थले बताउनुभयो ।
विक्रम सम्बत १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र बिक्रमको कान्छी महारानी पद्मावतीद्वारा वर्तमान मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केही पुस्तकमा उल्लेख रहेको मन्दिर संरक्षण समितिका सचिव भिम श्रीपालीले बताउनुभयो ।
स्थानीयका अनुसार प्राचिनकालदेखि पदमप्रकाशेश्वर शिव मन्दिर नेपाली भक्तजनका साथै भारतीय भक्तजनको पनि आस्थाको केन्द्रका रुपमा रहँदै आएको छ । २०६७/६८ सालमामा मन्दिर शत वार्षिकी मनाउँदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य, माधववाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले मन्दिरको दर्शन गर्नुभएको थियो ।
प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाश मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पूजा अर्चना गरेर प्रस्थान गर्ने गरेको स्कन्द पुराणमा उल्लेख छ ।









प्रतिक्रिया