
काठमाडौँ, १३ चैत । शेष घले पक्ष आफूहरु आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) भएको दावी गर्दै परराष्ट्र मन्त्रालय पुगेको छ ।
काठमाडौँको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।
आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर पत्र बुझाएका हुन् ।
एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा मार्च २४ मा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो ।
निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ । उपेन्द्र महतो, जीवा लामिछाने तथा कुमार पन्त पक्षले भने ३ जना अध्यक्ष रहने भन्दै विधानका केही बुँदाहरु परिवर्तन गरेका थिए ।
त्यस निर्णयपछि एक भन्दा बढी अध्यक्ष चयन गरिनु घले पक्षले त्यो निर्णय अवैध भएको भन्दै मन्त्रालय पुगेको हो ।
पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघको सन् २२ मार्च २०२२ देखि २४ मार्च २०२२ मा काठमाडौं, दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्पन्न दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूबाट गैरआवासीय नेपाली संघको विधान, २००३ (२०२१ संशोधित सहित) को केही व्यवस्थाहरुलाई संशोधन गर्ने गरी निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८।१२।१२ को बैठकबाट सम्बोधन गरी विधानको दफा २९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु ।’














प्रतिक्रिया