
काठमाडौँ, २० माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।
उनीहरु हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट नेपाल आएका थिए ।
बिहीबार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट उनीहरुलाई पक्राउ गरेको हो ।
साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।












प्रतिक्रिया