बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बिजुली चोर इटा भट्टाका मालिक र पूर्व हवल्दारद्वारा फिल्मी शैलीमा कर्मचारीहरूलाई कुटपिट

दैनिक नेपाल २०७८ वैशाख २१ गते १२:०५

चन्द्रौटा, २१ वैशाख । कपिलवस्तु जिल्लामा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई कुटपिट गरेको अभियोगमा प्रहरीले मनकामना इटा भट्टाका मालिक सुशीलकुमार शुक्लासहितका व्यक्तिलाई पक्राउ गरेको छ ।

शिवराज नगरपालिका– ८ पटपरमा रहेको मनकामना इटा भट्टाले तिर्नुपर्ने प्राधिकरणलाई तिनुपर्ने २ लाख १९ हजार २ सय ४७ रुपियाँ तिन नसकेपछि बिजुलीको लाइन काटिएको थियो ।

लाईन काटिए पनि मनकामना इटा भट्टाका मालिक सुशीलकुमार शुक्लाले बिजुलीको पोलबाट तार हुक गरेर एक वर्षदेखि बिजुली चोरी गरेर चलाउँदै आएका थिए ।

हुक गरिएको बिजुलीको तार काटेर इटा भट्टाको मोटर निकालेर फर्किने क्रममा सुशीलकुमार शुक्ला र पूर्व प्रहरी हवल्दार आनन्दकुमार शुक्लाको समूहले कर्मचारीहरूलाई कुर्सीमा बाँधेर पानी हालेर कुटपिट गरेका थिए । साउथ ईण्डिन फिल्मको शैलीमा उनीहरूले कुटपिट गरेको पीडित कर्मचारीहरूले बताएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका ईन्स्पेक्टर शंकरप्रसाद आचार्यले विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गर्ने इटा भट्टाका मालिकहरूलाई उन्मुक्ति दिने गरेर अभद्र व्यवहारको मात्रै निवेदन लिएको आरोप पीडित कर्मचारीहरूको छ ।

पीडित कर्मचारीहरूले कुटपिट गर्ने सुशीलकुमार शुक्ला र नेपाल प्रहरीका पूर्व हवल्दार आनन्द शुक्लालाई ज्यान मार्ने अभियोगमा मुद्धा चलाउनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवराज अधिकारीलाई निवेदन दिएका छन् । एसपी अधिकारीले विद्युत प्राधिकरणका कर्मचारीहरूलाई ज्यान मार्ने उदेश्यले कुटपिट गर्नेहरूलाई ज्यानमार्ने उद्योगमा मुद्धा चलाउँछन् वा अभद्र व्यवहारमा मुद्धा अगाडि बढाउँछन् हेर्न बाँकी छ ।

एसपी अधिकारीले विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरेर हिरासतमा राखिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । एसपी अधिकारीले दोषीलाई हदैसम्मको कारबाही गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।

विद्युत प्राधिकरणका कर्मचारीहरूलाई कुर्सीमा बाँधेर पानी हालेर कुटपिट गर्ने इटा भट्टाका मालिक सुशीलकुमार शुक्ला र पूर्व हवल्दार आनन्द शुक्लालाई कारबाही नगर्न विभिन्न दलका स्थानीय नेताहरूले प्रहरीलाई दवाव दिएको आरोप छ ।

इटा भट्टा सञ्चालक सुशीलकुमार शुक्ला निकै विवादित व्यक्ति हुन् । उनले इटा भट्टा सञ्चालन गरेदेखि राज्यलाई तिर्नुपर्ने कर छली गर्दै आएको आरोप लाग्दै आएको छ ।

प्राधिकरणको कृष्णनगर वितरण केन्द्रका फोर मेन कोशलराम चौधरी र झपेन्द्र चौधरी, ई.सी. उमेशकुमार साह, सवारी चालक सरोज थारु र मथुराप्रसाद चौधरीलाई मनकामना ईटा भट्टाका मालिक सुशीलकुमार शुक्ला, नेपाल प्रहरीका पूर्व हवल्दार आनन्द शुक्ला तथा उनीहरूको भाई–भतिजाहरूले कुपिट गरेको उजुरीमा उल्लेख छ ।

कुटपिटबाट प्राधिकरणका कर्मचारी फो.मे. कोशलराम चौधरी र ई.सी. उमेशकुमार साह र सवारी चालक सरोज थारुको मुख र कानबाट रगत आएको छ ।

‘वैशाख १७ गते कृष्णनगर वितरण केन्द्रको चुहावट नियन्त्रण कार्यमा खटिइ गएको चुहावट नियन्त्रण टोलीले कार्यक्षेत्रभित्र पर्ने शिवराज नगरपालिका– ८ पटपरमा रहेको मनकामना ईटा भट्टा (ग्राहक आई.डी.नं. २६८६४) मा बाँकी बक्यौता रु. २,१९,२४७ हुन गएकोले निज ग्राहकले महसुल नबुझाएको हुँदा निजको ०७७ वैशाख २५ गतेदेखि लाईन काटिएकोमा लाईन काटिए पनि ईटा भट्टामा हुकिङ गरि विद्युतको अनाधिकृत प्रयोगद्वारा विद्युत् चोरी गरि इटा भट्टा सञ्चालन गरेको देखिएको उक्ता भट्टाको मोटर निकाली यस वितरण केन्द्रमा फर्किने क्रममा दिनको करीव १२ बजेको समयमा ईटा भट्ट मालिक सुशीलकुमार शुक्ला, आनन्द शुक्ला र निजका भाई, भतिजाहरू मिली यस वितरण केन्द्रको चुहावट नियन्त्रणमा खटिई गएका पाँच जना कर्मचारीहरू फो.मे. कोशलाराम चौधरी, फो.मे. झपेन्द्र चौधरी, ई.सी. उमेशकुमार साह, सवारी चालक सरोज थारु र मथुराप्रसाद चौधरीमध्ये फो.मे. कोशलराम चौधरी, ई.सी. उमेशकुमार साह र सवारी चालक सरोज थारुसहितलाई मुख र कानबाट समेत रगत आउने गरि निर्घात कुटपिट गरेको हुँदा निजहरूलाई कानून बमोजिम कडा कारबाही गरि आवश्यक सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ’, वतरण केन्द्र प्रमुख कमर आलम खाँले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई लेखेको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित