४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीले पनि लगाए कोरोनाविरुद्धको खोप, ढुक्क भएर लगाउन सर्वसाधारणलाई आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध नेपालमा आज आइतबारदेखि दोस्रो चरणको खोप अभियान शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गरिएको छ । प्रधानमन्त्रीले खोप लगाएसँगै आम जनमानसमा खोपप्रति कुनै नकारात्मक भावना भए पनि हटेर जाने विश्वास गरिएको छ ।

पहिलो चरणअन्तर्गत यसअघि स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी, सांसद लगायतलाई खोप लगाइसकिएको छ । अहिले नेपालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ प्रयोगमा ल्याइएको छ ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाएर दोस्रो चरणको खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि कोभिड विरूद्धको खोप लगाएकी छिन् ।

खोप लगाएपछि प्रधानमन्त्री ओलीले आफूले कोरोना विरुद्धको खोप लगाएको र कुनै पनि असर नदेखिएको बताउँदै ढुक्क भएर सबैलाई खोप लगाउन आग्रह गरेका छन् । लामो अनुसन्धान र विभिन्न चरणमा परीक्षण भएकाले खोप प्रभावकारी र विश्वसनीय भएको उनको विश्वास छ ।

सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई देशैभरी खोप कार्य सञ्चालन गर्दै छ । यस अभियान अन्तर्गत करीब १६ लाख ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी खोप प्रदान गर्ने लक्ष्य सरकारको छ ।