२ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई ओलीको नयाँ प्रस्ताव, नेकपामा थपियो नयाँ तरङ्ग

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सम्पूर्ण विवाद समाधनाका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

बहुमत सचिवालय सदस्यहरुले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक पदबाट राजीनामा दिनुपर्ने अडान चर्काउँदै लगिरहेका बेला ओलीले नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।

उनले पार्टीभित्रको सधैंको विवाद समाधानका लागि सबैले आ–आफ्नो ठाउँबाट राजीनामा दिनुपर्ने प्रस्ताव प्रचण्डलाई गरेका छन् । मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका पार्टी महासचिव विष्णु पौडेलमार्फत ओलीले दाहाललाई यस्तो प्रस्ताव पठाएको बताइएको छ ।

पार्टीका पुराना नेता प्रदिप नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रस्ताव सार्वजनिक गरेका हुन् । नेपालले लेखेका छन्, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीभित्रको कचकच मिलाउन सबैले राजीनामा गरौं भन्नुभएछ ।’

ओलीको यो प्रस्तावप्रति नेता नेपालले सहमति जनाएको संकेत समेत गरेका छन् । साथै प्रधानमन्त्री ओलीको यो विकल्प सही भएको र यसलाई कार्यान्वयन गर्न सबै तत्पर हुनुपर्ने दर्जनौं प्रतिक्रिया समेत आएका छन् ।

सबैले आ–आफ्नो पदबाट राजीनामा दिएर महाधिवेशनमा केन्द्रित हुँदा पार्टीको वर्तमान विवाद हल हुने आशयका साथ ओलीले उक्त प्रस्ताव प्रचण्डलाई पठाएको बुझिएको छ । ओलीले पछिल्लो समय एउटा–दुईटाले मात्रै नभई सबैले त्याग गरेर तल्लो तहमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा समेत सार्वजनिक गर्दै आएका छन् ।

गत शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीविरुद्ध पेश गरेको लामो राजनीतिक प्रस्तावले पार्टीभित्र तरङ्ग उत्पन्न भइरहेका बेला ओलीको यो प्रस्तावले नेकपामा थप नयाँ तरङ्ग पैदा गरेको छ ।

यो पनि पढ्नुहोस्-