
काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको सम्पूर्ण आरोपहरु ‘वाहियात’ भएको बताएका छन् ।
आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलका क्रममा अध्यक्ष ओलीले अब प्रचण्डसँग सँगसँगै हिँड्न नसकिने समेत बताएका छन् । पार्टीभित्रको विवाद समाधान गर्दै सहज रुपमा सरकार सञ्चालनमा आफूलाई सघाउन अध्यक्ष ओलीले नेता नेपालसँग आग्रह गरेको बताइएको छ ।
समाचार स्रोतका अनुसार नेता नेपालले संयमित र जिम्मेवार ढंगबाट पार्टीको विवाद अन्त्य गर्न आग्रह गरेका छन् । प्रचण्डबारे ओलीले नकरात्मक दृष्टिकोण बनाउँदा पार्टीभित्र थप समस्या सृजना हुनेतर्फ पनि नेता नेपालले ओलीलाई सचेत गराएका छन् ।
भेटका अवसरमा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमाथि आगामी बैठकबाट खण्डन गर्न नेता नेपालले सुझाव दिए पनि ओलीले नेपालको सुझाव ठाडै अस्वीकार गरेका छन् । प्रचण्डले आफूमाथि पूर्वाग्राही ढंगले लगाएका संगीन आरोपहरुको खण्डन वा जवाफ दिन आवश्यक नरहेको स्पष्ट पारेको बताइएको छ ।
यस्तै पार्टी एकतामा समेत गम्भीर अवस्था सृजना गर्नेगरी प्रचण्डले आफूमाथि अनेक आरोपहरुको पुलिन्दा तयार गरेको ओलीको भनाइ छ । नेता नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान बाध्य हुने समेत बताएका छन् ।
आइतबार अध्यक्ष ओलीले पार्टी महासचिव विष्णु पौडेललाई साथैमा राखेर नेता नेपालसँग बालुवाटारमा करिब २ घण्टा छलफल गरेका थिए । ओलीले त्यसअघि पार्टी उपाध्यक्ष बामदेव गौतमसँग पनि छलफल गरेका छन् ।
लामो रस्साकस्सीबीच शुक्रबार छोटो समय बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै लामो राजनीतिक प्रस्ताव पेश गेका छन् । उक्त प्रस्ताव आएपछि नेकपाभित्र नयाँ तरंग पैदा भएको छ ।
प्रचण्डको उक्त प्रस्ताव पार्टी एकीकरणमा धक्का दिने आशयको भएको भन्दै सार्वजनिक सञ्चारमाध्यममा चर्चा भइरहेका छन् । त्यसो त ओली पक्षका केही नेताहरुले उनको प्रस्ताव फिर्ता नभए आगामी बैठक नै बस्न नसक्ने चेतावनी समेत दिएका छन् ।
सचिवालयको अर्को बैठक आगामी बुधबार दिउँसो ३ बजे बस्दै छ । बैठकमा प्रस्तुत हुन नेताहरुले आन्तरिक तथा बाह्य छलफललाई तीव्रता दिएका छन् भने अध्यक्ष ओली आफूले चाल्ने कदमबारे सघन छलफलमा जुटेका छन् ।
यसैक्रममा उनले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेर परामर्श गरिसकेका छन् । उक्त परामर्शलाई ओलीले चाल्ने भावी कदमका लागि निकै अर्थपूर्ण हुने चर्चा भइरहेको छ ।
यो पनि पढ्नुहोस्–
- प्रधानमन्त्री ओली र गौतमबीच भेटवार्ता, यस्तो भयो छलफल
- राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच के–के विषयमा भयो छलफल ?
- प्रचण्ड ‘कि तँ छैनस् कि म छैन्’ जसरी अघि बढे : ईश्वर पोखरेल
- प्रचण्डको प्रस्तावले नेकपाभित्र हंगामा : प्रधानमन्त्रीका सल्लाहकार के भन्छन् ?
- दाहाललाई पोखरेलको दबाब: ओलीमाथिको संगीन आरोप फिर्ता लिन चेतावनी
- बाटो खुलेसँगै बामदेव गौतमलाई मन्त्री बनाउने बालुवाटारको तयारी
- प्रचण्डलाई ओलीको प्रश्न: एकीकरणको बाँकी काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ?















प्रतिक्रिया