आइतबार, २० जेठ २०८१
DainikNepal.com
आइतबार, २० जेठ २०८१

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच के–के विषयमा भयो छलफल ?

दैनिक नेपाल २०७७ कार्तिक २९ गते २३:२८

काठमाडौं, २९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि भन्दै लामो रस्साकस्सीबीच शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावका कारण पार्टीमा थप समस्या आएपछि प्रधानमन्त्रीले राष्ट्रपतिसँग गरेको यो भेटलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

यद्यपि राष्ट्रपति कार्यालयले यो नियमित भेट भएको दाबी गरेको छ । तर, पार्टी भित्रकै नेताहरुले भने शनिबार साँझको उक्त भेटवार्तालाई निक्कै अर्थपूर्ण र रणनीतिक भएको बताउन थालेका छन् ।

पार्टीभित्र बहुमत सचिवालय सदस्यले आफूलाई दबाबमा राख्दै सरकारको काम समेत प्रभावकारी रुपमा सम्पादन गर्न नदिएपछि रुष्ट बनेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटबाट गम्भीर र अप्रत्याशीत रणनीति तयार पारेको बताईन्छ ।

स्रोतका अनुसार शनिबारको भेटवार्तामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ब्युँताउने, मध्यावधि निर्वाचनको घोषणा र संसद विघटनलगायत विकल्पका विषयमा छलफल गरेका छन् । आफूइतरका नेताहरुलाई थप दबाब सृजना गर्ने गरी ओलीले उल्लेखित विकल्पहरु प्रयोग गर्न सक्ने सम्भावना समेत बढेको स्रोतको दाबी छ ।

राष्ट्रपतिलाई भेट्नुअघि ओलीले दिउँसो आफूनिकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए । सो छलफलपछि केही नेताहरुलाई समेत लिएर ओली शितलनिवास पुगेका हुन् ।

यसअघि पनि ओलीले गत वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए र तर चौतर्फी आलोचनाका कारण त्यसलाई फिर्ता लिइएको थियो । पार्टीमा आफूमाथि क्रमशः दबाब बढ्दै गएपछि फेरि उनले त्यसो अस्त्रलाई प्रयोग गर्ने धेरैको आँकलन छ ।

यस्तै संसद विघटन वा मध्यावधि निर्वाचनको घोषणालगायत विषयमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिसँग आवश्यक परामर्श गरेको बताइएको छ । यसले ओलीइतरका नेताहरुलाई दबाब सृजना गरी प्रचण्डद्वारा पेश भएको प्रस्ताव फिर्ता लिने वातावरण तयार हुनेमा ओली पक्षका नेताहरु विश्वस्त छन् ।

तर, अध्यक्ष प्रचण्डले प्रतिवेदन फिर्ता नलिए ३ मंसिरका लागि तय गरिएको सचिवालय बैठक नराख्नेबारे पनि ओली समूहमा छलफल भइरहेको बताइएको छ । शनिबार दिनभर कतिपय नेताहरुको सामाजि सञ्जालमा अभिव्यक्त धारणाहरुले पनि ती कुराहरुको पुष्टि गर्न मद्दत गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित