
काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘कि तँ छैन्स् कि म छैन’ जसरी अगाडि बढेको बताएका छन् ।
पार्टीको शुक्रबार बसेको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गर्दै पार्टीका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अत्यन्त संगीन आरोपहरु लगाएर पार्टीमा दुर्घटना निम्त्याउन खोजेको समेत बताएका छन् ।
केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमा पार्टी एकता जोगाउने उपायबारे लेख्दै नेता पोखरेलले भनेका छन्, ‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ । ‘प्रस्ताव’का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णयविरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन् ।’
अत्यन्त दुराग्रहपूर्ण र असन्तुलित ढंगबाट अगाडि सारिएका प्रचण्डको उक्त प्रस्तावले पार्टी एकतामा प्रश्न चिह्न खडा गर्नाका साथै गम्भीर समस्या उप्तन्न गर्न सक्ने भन्दै पोखरेलले अगाडि लेखेका छन्, ‘सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती ‘प्रस्तावहरू’ फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?’
यो विषयको छिनोफानो प्रचण्डले मात्रै नभइ नेकपा भित्रका सबै जिम्मेवार नेताहरुले गर्नुपर्ने पोखरेलको भनाइ छ ।
उनले फेसबुकमा यस्तो लेखेका छन्–
पार्टी एकतालाई बचाउने हो भने
———————————
प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ ।
‘प्रस्ताव’का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती ‘प्रस्तावहरू’ दुराग्रहका साथ प्रस्तुत ती ‘प्रस्तावहरू’ फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन, नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !!















प्रतिक्रिया