
काठमाडौँ, १९ असोज । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले आजै पक्राउ पुर्जी जारी गरेको थियो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सभामुख महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
असोज १२ गते राति महराले आफूलाई बलात्कारको प्रयास गरेको भनी शाहीले १४ गते मंगलबार मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।
तर, त्यसको भोलिपल्टै बयान फेर्दै महरा आफ्नो बाबु समान रहेको र आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् ।
यद्यपी, उनले महराले आफूलाई बलात्कारको प्रयास भएको भन्दै शुक्रबार बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोप लागेसँगै असोज १४ गते मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
उनले सांसद पदबाट राजीनामा निदएका हुनाले प्रहरीले आजै पक्राउका लागि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई जानकारी गराएको थियो । प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपूर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन असोज १२ गते महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ । पीडितको कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज र महराले प्रयोग गर्ने मोबाईलको कलवाइज लोकेशन संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।
जाहेरी आएपछि प्रहरीले पीडित महिलाको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दाको प्रक्रिया अगाडी बढाएको थियो ।
कसुर प्रमाणित भएमा महरलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुनेछ ।
यो पनि पढ्नुहोस् :
–महरालाई पक्राउ गर्न बालुवाटारभित्र पुग्यो प्रहरी
–महरालाई पक्राउ गर्न प्रहरीले उपसभामुखलाई जानकारी दियो
–कृष्णबहादुर महराविरुद्ध अदालतद्वारा पक्राउ पुर्जी जारी











प्रतिक्रिया