सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

कृष्णबहादुर महराविरुद्ध अदालतद्वारा पक्राउ पुर्जी जारी

दैनिक नेपाल २०७६ असोज १९ गते १६:४०

काठमाडौँ, १९ असोज । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उच्च स्रोतले जानकारी दिएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि महराले पदबाट राजिनामा दिएका थिए । महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दर्ता भएको थियो ।

जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो ।

अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गरेपछि महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । उच्च स्रोतका अनुसार अदालतको आदेश बमोजिम महरालाई आजै पक्राउ गर्ने प्रहरीको तयारी छ ।

महराले सभामुख पदबाट राजीनामा दिएपनि सांसद पदबाट भने राजीनामा दिएका छैनन् । प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपूर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ । यही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी दिएर महारालाई पक्राउ गर्ने तयारी थालेको छ ।

उपसभामुखलाई जानकारी दिएपछी प्रहरीले महरालाई पक्राउ गर्नेछ । फौजदारी कसुरमा अदालतको पक्राउ आदेशसंगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्नेछ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (असोज १२ गते) महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ । पीडितको कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज र महराले प्रयोग गर्ने मोबाईलको कलवाइज लोकेशन संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

जाहेरी आएपछि प्रहरीले पीडित महिलाको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दाको प्रक्रिया अगाडी बढाएको थियो ।

घटना घटेपछि गत आइतबार राति नै पीडित शाहीले आफू सभामुख महराबाट बलात्कृत भएको भन्दै प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेकी थिइन । खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट प्रयोग भएको रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।  तर,  प्रहरी पीडितको कोठामा पुग्नुअगावै महरा त्यहाँबाट निस्किसकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित