११ मंसिर २०८३, शुक्रबार

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने कांग्रेसको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनपछि आयोगले कांग्रेसको अद्यावधिक गरिसकेकाले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । साथै, बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णय समेत गरेको कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए ।

बैठकले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको, संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको उनले बताए ।

त्यस्तै, पासपोर्ट प्रकरण र सुनकोसी–मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको सहमहामन्त्री शिवाकोटीले उल्लेख गरे ।

स्थानीय चुनावको तयारीका लागि देशभरिका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत भएको उनले बताए । साथै, बैठकले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको विषयको विरोध गरिएको शिवाकोटीले जानकारी दिए ।

बैठकको पूर्ण निर्णय शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।