१३ कार्तिक २०८३, शुक्रबार

मुगुका किशोरीको बार्सिलोना र रियल म्याड्रिड यात्रा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । मुगुको विकट बामा गाउँका १४ वर्षमुनिका किशोरीको फुटबल टिमले आगामी महिना स्पेनको यात्रा गर्दै छ ।

खेल्ने मैदानसमेत नभएका हिमाली जिल्लाका किशोरिले आफ्नै संघर्षबाट अन्तर्राष्ट्रिय मैदानमा अनुभव सँगाल्ने मौका पाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्पेनको सानसबस्टेनमा हुने ‘डोनास्टिक कप’मा प्रतिस्पर्धा गर्न किशोरीहरू २८ जुनमा त्यसतर्फ जाँदै छन् । प्रतियोगिता १ देखि ७ जुलाईसम्म हुनेछ । जहाँ नेपाली किशोरीले चार खेल खेल्नेछन् ।

फुटबल फेस्टिबलका रूपमा मनाइने उक्त प्रतियोगितामा विभिन्न ३० देशका ३३ भन्दा बढी टोली सहभागी हुँदै छन् ।

‘नेपाली किशोरीको यात्रा पहिलो मात्र होइन विकट भेगबाट युरोपसम्मको अनुभव आफैँ ठूलो हो,’ प्रशिक्षक भगवती रानाले भनिन् । उक्त प्रतियोगितापछि विश्वप्रसिद्ध फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडलगायत प्रतिष्ठित ठाउँको अवलोकनको अवसरसमेत किशोरीहरूले पाउनेछन् ।

विकट ग्रामीण भेगका किशोरीहरूले मैदानको अभावमा हिउँका बीच फुटबल खेलका लागि गरेको संघर्षमा आधारित रहेर २०१५ मा भोजराज भाटले दुई वर्ष लगाएर ‘सुनकली’ नामक डकुमेन्ट्री तयार गरे ।

उक्त डकुमेन्ट्री युरोपका विभिन्न १३७ फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । उक्त डकुमेन्ट्रीले विभिन्न २३ भन्दा बढी अवार्डसमेत जित्यो । डकुमेन्ट्रीमा सुनकलीले फुटबल खेल्नका लागि विकट हिमाली भेगमा गरेको संघर्ष देखाइएको थियो ।