सुर्खेत, २६ जेठ । कर्णाली सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका लागि २ लाख रुपैयाँका झोला बाँडेको छ भने साढे १७ लाख रुपैयाँ खाना र नास्तामा खर्च गरेको जानकारी गराएको छ ।
शुक्रबार प्रतिपक्षी दलले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थ मन्त्री ज्वालाले टेलिभिजन, रेडियोमा प्रचार प्रसारका लागि झण्डै ७ लाख र डिजिटल बोर्ड पर्चा पम्पलेट छपाइमा २ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कर्णाली सरकारले १० लाख ७६ हजार रुपैयाँ हवाई भाडा खर्च गरेको जनाएको छ भने एक दिनको कार्यक्रममा खाना र नास्ताका लागि १७ लाख ४६ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
मञ्च व्यवस्थापन, साँस्कृतिक कार्यक्रम र ब्यानरका लागि ११ लाख ५० हजार रुपैयाँ खर्च गरेको सरकारले कार्यक्रमको तयारीका लागि २ लाख रुपैयाँ र पत्रकारहरुका लागि ६५ हजार रुपैयाँ खर्च गरेको संसदमा जानकारी गराएको छ ।
कार्यक्रम उद्घाटनमा आएका पाहुनाहरुलाई ५ लाख ५४ हजार रुपैयाँको उपहार बाँडेको मन्त्री ज्वालाले संसदलाई जानकारी गराए ।
कर्णाली भ्रमण वर्ष उद्घाटनपछि रारामा जाने पर्यटकको संख्या दोब्बरले बढेको भन्दै उनले आगामी वर्ष सरकारले लिएको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरे ।














प्रतिक्रिया