२१ कार्तिक २०८३, शनिबार

एमाले उपमहासचिव भुसाल भन्छन्- श्रम रहेसम्म मार्क्सवादको औचित्य समाप्त हुँदैन्

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा मार्क्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताउनुभएको छ ।

शनिबार भएको साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खलामा द्विशताब्दिऔँ मार्क्स (सन् १८१८–१८८३) जन्मजयन्ती समारोह समितिका संयोजक भुसालले मार्क्सवादले समाजका सबै खाले विचार र विशेषज्ञतालाई जोड्ने काम गर्ने बताउँदै भन्नुभयो, “जबसम्म श्रम रहिरहन्छ तबसम्म मार्क्सवादको औचित्य कहिल्यै समाप्त हुँदैन, यो संसारमै सर्वव्यापी भइरहन्छ ।” नेपालमा मार्क्सको द्विशताब्दी समारोह समिति गठन गरी विचारविमर्श गरिँदैछ ।

गोष्ठीमा राम विनय, अतृप्त पाण्डेय, कणाद महर्षि, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, गोपाल नेपाल, नवराज श्रेष्ठ, रचना दाहाल, बलराम विष्ट, आनन्दराम पौडेल, पुण्य गौतम ‘विश्वास’, कुसुम शर्मा, नारायण निराशी, रूपक अलङ्कार र डा खेम दाहालले आआफ्ना कविता र गजल वाचन गर्नुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक विष्णुप्रसाद ज्ञवालीले विचारसहितका र विचाररहित गरी दुई खालका कविता हुने बताउँदै विचाररहित कविताले कहिलेकाहीँ स्रोतामाझ प्रभाव पार्न त सक्छन् तर रूपान्तरणको सन्देश भने दिन सक्दैनन् भन्नुभयो । कविले बाँचेको युगचेतना, वैयक्तिकता, युगबोध र भविष्यबोध र बोधगम्यता कवितामा आउनु जरुरी रहेकामा उहाँले जोड दिनुभयो. ।

नियात्राकार पोषरमण चापागाईँले साहित्य सन्ध्यालाई प्राप्त नियात्रामध्येबाट एउटा उत्कृष्टलाई हरेक महिना रु एक हजार राशि पुरस्कार दिइने र बिस्तारै अक्षय कोषको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रममा सन्ध्याका सल्लाहकार, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वरजिस्ट्रार एवम् प्राज्ञ प्रा जगत् उपाध्याय ‘प्रेक्षित’का पिता ज्यो पं हरिप्रसादको ९० वर्षका उमेरमा शुक्रबार दैलेखमा देहावसान भएकामा श्रद्धाञ्जलि अर्पण गरिएको जानकारी दिनुभयो । रासस