काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल एमालेसहित नौवटा दलका शीर्ष नेताले सरकारले संसद्मा दर्ता गरेका संविधान संशोधन विधेयक पारित हुन नदिने उद्घोष गरेका छन् ।
सत्तारूढ दलका साथै मधेसी मोर्चाका नेताले २४ पुसको संसद् बैठकमा संशोधन विधेयक टेबुल गर्ने सहमति गरेलगतै नौ दलका शीर्ष नेताले एउटै मञ्चबाट विधेयक पास हुन नदिने उद्घोष गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
शुक्रबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै नौं दलका शीर्ष नेताले सरकारले दर्ता गराएको संशोधन विधेयक राष्ट्रिय हितविपरीत भएकाले पारित हुन नदिने उद्घोष गरेका हुन् ।
जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुचित उद्देश्य बोकेर बनेको सरकारले राष्ट्रियताविरुद्ध प्रस्ताव अघि सारेको भन्दै नौ दलले संसद्मा विधेयकको डटेर सामना गर्ने बताए ।विधेयक नेपाली जनताको आवश्यकता एवं चाहनाले नभई अर्कैको अनुचित उद्देश्य पूरा गर्न चुनाव गर्न छाडेर संविधान संशोधनको कुरा सरकारले अघि सारेको उनको भनाइ छ ।
‘अर्कैको अनुचित उद्देश्य पूरा गर्न सरकारले संविधान संशोधन गर्न खोज्दै छ, यो सरकारलाई निर्वाचनको चासो नै छैन,’ ओलीले भने, ‘यो सरकार के गर्दै छ, निर्वाचन गराउन खोज्दै छ ? निर्वाचनको चासो नभएको यो सरकारले संशोधनको रट मात्रै लगाइरहेको छ ।’ संशोधनमा मुलुकलाई कमजोर बनाउने षड्यन्त्र लुकेको बताउँदै ओलीले यसलाई कुनै हालतमा पारित हुन नदिने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनबारे राखेको चासो उल्लेख गर्दै ओलीले सत्तारूढ दलका नेताहरू संविधान संशोधन नै चुनावका लागि हो भनेर जुवाडेको जस्तो तर्क गर्न थालेको बताएका छन् । ‘जुवाडेले कौडा पछार्छ, हारजित जुवाको होइन सम्पत्तिको हुन्छ, तास पछार्छ हारजित सम्पत्तिको हुन्छ, तर सत्तारूढ दलका नेताले तासका पत्ती र कौडा पछारेर देशलाई हराउने कोसिस गर्दै छन्,’ ओलीले भने ।

संविधानमा भएको व्यवस्था अनुसार ७ माघ ०७४ भित्रमा तीनै तहको निर्वाचन गरेर संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए । संविधान पूर्ण रूपमा कार्यान्वयन नभए संसद्का साथै प्रधानमन्त्री समेत नरहने भएकाले निर्वाचन तोकिएकै मितिमा गर्नुपर्ने माग उनले गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मधेसी मोर्चासँगको बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीले संशोधन प्रस्ताव अघि बढाएर छलफल चलाउन सल्लाह दिएको बताएर प्रधानन्यायाधीशलाई विवादमा मुछ्न झुटको खेती गरेको आरोप लगाए ।
प्रधानन्यायाधीशले सल्लाह दिए भन्दै प्रधानमन्त्री भएका मान्छेले झुठा कुरा गर्दै हिँडेको बताउँदै ओलीले भने, ‘न अदालतले त्यो भन्न मिल्छ न प्रधानन्यायाधीशले त्यसो गर्नुहुन्छ तर प्रधानमन्त्री झुठा कुरा गर्दै हिँडिरहेका छन् ।’ओलीले एमालेले तराईमा जागरण अभियान थाल्ने उद्घोष गर्दै तराईमा बोलिने मैथिली भोजपुरी लगायत भाषा समाप्त पारी हिन्दी भाषलाई स्थापित गर्ने षड्यन्त्र सरकारले गरिरहेको आरोपसमेत लगाए ।‘सुन्छु कसैकसैले ड्रम बजाएर मधेसबाट एमालेलाई लखेट्ने रे, कसको कस्तो हैसियत छ, त्यसैबाट थाहा हुन्छ,’ ओलीले भने, ‘तराईमा एमाले नै बलियो छ, उहाँहरूले जितेको ११ सिट हो र एमालेले जितेको ४० सिट हो यसैले थाहा हुन्छ तराईको प्रतिनिधि को हो ।’
शुक्रबारको जनसभामा एमालेका मधेसी नेताले गाम्छा ओढी बैन्डबाजासहित सहभागिता जनाएका पछि त्यसलाई हेर्न आग्रह गरे । तराईका जनताको देशभक्तिलाई कमजोर नठान्न चुनौती दिँदै ओलीले अब एमाले मेची–महाकाली मधेस अभियान सञ्चालन गरिने उद्घोष सोही सभाबाट गरेका छन् ।
नेकपा मालेका महासचिव सीपी मैनालीले संविधान संशोधन विधेयक राष्ट्रहित र संविधानको भावना र मर्मविपरीत दर्ता भएको भन्दै कुनै हालतमा पारित हुन नदिने उद्घोष गरे । उनले सर्वोच्च अदालतको पछिल्लो आदेशले समेत प्रदेशसभा नभई प्रदेशको सिमाना चलाउन नपाइने स्पष्ट रूपमा सम्झाएको भन्दै रूपान्तरित संसद्ले प्रदेशबारे संविधान नभई कानुनका विषयमा मात्र निर्णय लिन सक्ने जिकिर गरे । नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् । ‘भारतले नेपालाई फिजीकरण गर्ने, सिक्किमीकरण, भुटानीकरण गर्नेजस्ता काम गर्न थालेको छ,’ उनको आरोप थियो ।














प्रतिक्रिया