
– ईश्वरी जी.एम.
रोल्पा, २० साउन । साम्यवादी व्यवस्था स्थापना गर्ने अभ्यासका रुपमा तत्कालिन नेकपा माओवादीको पहलमा २०६० सालमा रोल्पाको थबाङ–६ राचीबाङमा स्थापित अजम्बरी जनकम्युन रित्तिएको छ ।
नेपालमा १० वर्षे सशस्त्र युद्ध चलिरहदा सो ठाउमा उवा, मिरुल, ह्वामा थबाङ लगायत विभिन्न गाविसका ३३ घरपरिवारका १ सय ५० सदस्य (माओवादी कार्यकर्ता)हरु एउटै घरमा बसेर जीविका चलाउने गरेका थिए । शान्ति प्रक्रियासँगै जनकम्युन बिस्तारै कमजोर बन्दै गई बिघटनको अवस्थामा आएको कम्युनमा स्थापनाकालदेखि बसेका सूर्य बहादुर रोकाले बताए । रोकाका अनुसार कम्युन स्थापना ताका र त्यसपछिको केहि समय कम्युनका सबै सदस्यहरु, पार्टी केन्द्र र जिल्लाले समेत अपनत्व देखाएर कम्युनलाई फस्टाउन महत्वपूर्ण भूमिका खेलेपनि हाल सबैले आ–आफ्नो बाटो रोजेर फरक बस्न ईच्छा देखाएपछि कम्युनमा रित्तो बन्दै गएको हो ।
२०७२ सालको असार ८ गते सम्म सूर्य बहादुर रोका, राजकुमार रोका र सुबिम्ब रोका गरि ३ घरपरिवारले संयुक्त रुपमा नै बसेर कम्युनलाई निरन्तरता दिने प्रयास गरेको भएपनि असार ८ गतेबाट यी ३ परिवारले पनि भान्छा अलग बनाएपछि कम्युन व्यक्तिगत घरमा परिणत भएको हो । औपचारिक रुपमा भान्सा छुटाएपछि अहिले उनीहरुले लगाएको सामुहिक मकै बाली समेत छुट्टाछुट्टै रुपमा आ–आफ्नो भागमा गोडमेल गर्नुका साथै आलु पनि छुट्टाछुट्टै खनिरहेका छन् । कम्युनमा ठूलो परिवार बस्दा आर्थिक रुपमा कहिलेकाहि समस्या परेपनि त्यतिबेला ज्याला मजदुरी गरेरै कम्युनलाई जोगाएको बरु अहिले परिवारको संख्या घट्दा समेत कम्युनलाई निरन्तरता दिन नसकिएकोमा आफू दुखी भएको सूर्य बहादुरले गुनासो गरे ।

थबाङका रेशम शाहले शान्ति प्रक्रियापछि कम्युनका कोहि सदस्यहरु विभिन्न पेशा व्यवसायमा आबद्ध हुने र कोही परिवार कम्युनकै लागि दिन रात खट्दा पनि त्यहीबीचबाट समस्या आई कम्युन रित्तिदै गएको बताए । कम्युनमा केहि वर्ष बसेर अहिले अलग्एिकाहरुले भने पार्टीकै नीति र निर्देशन अनुसार आफूहरु कम्युनमा बसेपनि कम्युनलाई निरन्तरता र दिगो व्यवस्थापनका लागि माओवादी पार्टीले कुनै कार्ययोजना र रणनैतिक दिगो योजना बनाउन नसक्दा नै कार्यकर्ताहरु(कम्युनका सदस्य)मा निरासा आई अगलको बाटो रोज्नुपर्ने बाध्यता आएको बताउँछन् तर पार्टी फुटको प्रभावले कम्युनमा भने कुनै असर नपारेका उनीहरुको भनाई छ ।
यस विषयमा अजम्बरी जनकम्युनका अध्यक्ष प्रवेश रोका(छिरिङ) ले कम्युनमा अब संयुक्त परिवार नहरेपनि नयाँ ढंग, नयाँ रुची र चाहना अनुसार अघि बढाउने योजना भईरहेको बताए । उनले भने ‘कम्युन रहन्छ तर पहिलेको जस्तो तरिकाले होईन् नयाँ तरिकाबाट चल्नेछ ।’ कम्युन १० वर्षे जनयुद्धको उपज भन्दै छिरिङले अब समुदायमा आधारित कम्युनलाई अघि बढाउने बताए ।
कम्युनलाई जोगाई राख्नका लागि तत्कालिन नेकपा माओवादीको पहलमा अजम्बरी जनकृषि सहकारी संस्था गठन गरि त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा सो ठाउमा दक्षिण एसियाकै पहिलो ट्रफल खेती समेत सुरुवात गरिएको थियो । २०६९ चैत २१ गते तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डद्धारा उद्घाटन गरिएको सो ट्रफल खेतीमा करोडौको लगानी रहेको छ । कम्युन नै नरहेपछि कम्युनमा संलग्न व्यक्तिहरुले लगाएको यो खेती कसले स्याहार गर्ने हो र त्यसको आम्दानी कसले खाने हो त्यो भने चासोको विषय बनेको छ ।
३ सय बोट रहेको ट्रफल प्रतिकेजी ५ हजारदेखि १० हजार डलरसम्ममा बिक्रि हुने र प्रतिबोट १ सिजनमा ढाईसय ग्राम उत्पादन हुने बिज्ञहरुले बताएको त्यहाँ कार्यरत जनमुक्ति सेनाका पूर्व बटालियन कमाण्डर राजकुमार रोकाले बताए । अबको ३ वर्षपछिबाट फल्न सुरु गर्ने ट्रफल ५० देखि ६० वर्षसम्म निरन्तर फल्ने पनि बताएको रोकाले बताए । ट्रफल लगाएको सो स्थानमा अहिले पनि त्रिभुवन विश्वविद्यालय र विदेशी विषय विज्ञहरु अनुसन्धानको लागि बेलाबेलामा जाने गरेको सहकारीमा आबद्ध व्यक्तिहरुले बताएका छन् ।












प्रतिक्रिया