– सन्तोष काफ्ले
धरान, १९ साउन । सुनसरीको धरानमा एक पूर्व प्रहरी अधिकारीको विभत्स हत्या भएको छ ।
धरान उपमहानगरपालिका ३ स्थित माछा भौडीमा खोटाङको दिप्लु घर भई धरान बस्दै आएका भुतपूर्व सिंगापुर प्रहरी अधिकारी ४० वर्षीय शंकर राईको विभत्स हत्या गरिएको अवस्थामा आज विहान फेला परेका हुन् ।
खुटा मात्रै देखिएको र अर्धनग्न अवस्थामा पानीमा डुबेका उनलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बाहिर निकालेको थियो । धरानमा रहेका विभिन्न ट्रेनिड सेन्टरमा समेत काम गरिसकेका राईको हत्या प्रहरीकै आँगनमा भएको हो । उनको हत्या भएको नदी किनार नजिकै प्रहरी वडा प्रहरी कार्यालय छ ।

मृतकको टाउकोमा गहिरो चोट लागेको छ । उनको हत्या गरि भाछाभौडीमा रहेको खहरेमा फालिएको प्रहरीले जनाएको छ । ३ वर्ष अगाडी सम्म धरानमा लाहुरे ट्रेनिङ सेन्टरमा प्रशिक्षकको रुपमा काम गरेका उनी केही समयदेखि केही काम नगरी बस्दै आएका थिए ।

धरानको मुख्यचौक भानु चौकमा रहेको वडा प्रहरी कार्यालय नजिकै रहेको सो खहरेमा मान्छे मारेर फाल्दा समेत प्रहरी वेखबर भएको भन्दै स्थानीय आक्रोशित बनेका छ । त्यसो त भानु चौकमा प्रहरीको भेन रात भर बस्ने गरेको छ । धरानमा पछिल्लो समयमा अपराधिक गतिविध मौलाउन थालेको तथ्याङ्कले देखाउँछ ।
१५ दिन अगाडि मात्र धरान ८ का भेषु मगरको पनि रातिकै समयमा हत्या भएको थियो । राई शवलाई पोष्टमार्टमको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।













प्रतिक्रिया