काठमाडौँ, १३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमति हुन नसक्नुको दोष एमाओवादीलाई दिनु भएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा पार्टीका जनवर्गीय संगसंगठनलाई देशव्यापीरुपमा संविधान जारी गर्न जनमत सिर्जनाका लागि निर्देशन दिन आयोजित कार्यक्रममा उहाँले एकीकृत नेकपा माओवादी सहमति गरेर अगाडि बढ्न नचाहेको बताउनुभयो ।
एमाओवादीले नकारात्मक भूमिका बारम्बार गरिरहेको हुनाले मुलुकलाई सहमतिमा हिँडाउन नचाहेको उहाँको भनाइ थियो ।
एमाओवादीलगायत मधेसी मोर्चाका बाधा, अवरोधलाई पन्छाउँदै जनताको भाग्य र भविष्य निर्धारण गर्ने संविधान निर्माणका लागि देशव्यापीरुपमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो ।
राष्ट्रको हितलाई बलिदानी दिने तयारीमा पार्टी नभएको भन्दै उहाँले तराई–पहाड छुट्याउने अवधारणा गलत भएको र दुई प्रदेशबीच आर्थिक, सांस्कृतिक र सामाजिक भावना जोडिएको बताउनुभयो ।
दुई तिहाई बहुमतको आधारमा अल्पमत पक्षलाई पेलेर लैजाने तयारी नभएको भन्दै वरिष्ठ नेता खनालले वार्ता र छलफललाई जारी गरी सकेसम्म सहमति गर्ने प्रयासमा पार्टी रहेको प्रष्ट पार्नुभयो ।
एमालेका नेता माधवकुमार नेपालले संविधान लेखनको काममा प्रक्रियाबाट अगाडि बढेको हुँदा आम जनतामा संविधान आउने आशा पलाएको भन्दै एमाओवादीले फैलाएको भ्रम चिर्न पार्टीले ठोस योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
उहाँले काँग्रेस र एमालले दुई तिहाईको दम्भ नदेखाएको स्पष्ट पार्दै सहमति र वार्ताका नाममा मुुलुकलाई अनिर्णयको बन्दी बनाउने सोच कसैले पनि राख्न नहुने बताउनुभयो ।
कार्यक्रममा पार्टीका विभिन्न १६ जनवर्गीय संगठनको सहभागिता थियो भने जनवर्गीय सङ्गठनका प्रतिनिधिले संविधान लेखनको नीति नियम एमाओवादीले उल्लङ्घन गरेको र जनताको भावनाविपरीत संविधान ल्याउन नदिने आन्दोलनकारीको चाहनालाई चिर्न देशव्यापी आमजनता र कार्यकर्तालाई परिचालन गर्नुपर्ने विचार राखेको थिए ।
















प्रतिक्रिया