१२ कार्तिक २०८३, बिहिबार

नेमकिपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, राष्ट्रपतिमा दुई उम्मेदवार कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naryanman-maharjanकाठमाडौँ, १० कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा दुईजना उम्मेदवार कायम रहनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले प्रदान गरेको समयसीमाभित्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि दुईजना मात्रै कायम रहनुभएको हो ।

संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आज साँझ ५ बजेसम्म दुईजना मात्रै उम्मेदवार कायम रहनुभएको छ ।

सचिवालयले उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारलाई फिर्ता लिने अवधिसम्म नेमकिपामा उम्मेदवार महर्जनले फिर्ता लिनुभएको हो ।

संसद्मा बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुनेछ । मतदान सकिएपछि अपराह्न २ः३० बजेदेखि मतगणना हुनेछ भने अपरान्ह ४ः४५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिनेछ ।

बुधबार साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका रहेको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ र नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तासँगै दलहरु आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्दै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।

एमाले उम्मेदवार भण्डारीको प्रस्तावमा एकीकृत नेकपा (माओवादी) र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत १३ दल रहेका छन् । काँग्रेस उम्मेदवार गुरुङको प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहनुभएको छ । रासस