१२ कार्तिक २०८३, बिहिबार

टिकटकर तुलसा अधिकारीको बास थुनामै, जिल्लाको आदेश उच्चबाट पनि सदर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारी (तुलसा कलेक्सन) लाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ । उच्च अदालतको आदेशसँगै अधिकारीले मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामै बसेर कानुनी लडाइँ लड्नुपर्ने भएको हो ।

आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लागेकी अधिकारीले जिल्ला अदालत ललितपुरको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएकी थिइन् । तर, न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्लाको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।

अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ । उनीमाथि आपराधिक लाभ लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरेको र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ ।

उच्च अदालतले उपलब्ध प्रमाणहरूको प्रारम्भिक मूल्यांकनका आधारमा उनलाई तत्काल थुनामुक्त गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो । आदेशमा जाहेरवाला कुमार चामोरियाको जाहेरी तथा थप निवेदन, घटनासँग सम्बन्धित व्यक्तिहरूले दिएको कागज र प्रहरी प्रतिवेदनलाई आधारका रूपमा उल्लेख गरिएको छ ।

त्यस्तै, अधिकारीले अदालतमा दिएको बयानमा जाहेरवालासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेको र आफूले सञ्चालन गरेको तुलसा कलेक्सन प्रालिको आय–व्यय विवरणमा कारोबार कम देखिएको विषयमा आफ्नो कमजोरी रहेको बताएको तथ्यलाई पनि अदालतले विचार गरेको छ ।

ललितपुर जिल्ला अदालतले २०८१ जेठ २१ गते अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश कानुनसम्मत देखिएको भन्दै उच्च अदालतले त्यसलाई यथावत् राखेको हो ।