काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डीपी अर्यालबीच आज सिंहदरबारमा करिब २० मिनेट लामो छलफल भएको छ। सांसदहरूका अनेक काण्ड, न्यायालयसँग जोडिएका घुस कारोबारका आरोप र इनम सापकोटा प्रकरणले राजनीतिक वृत्तमा हलचल भइरहेका बेला भएको यो भेटलाई चासोका साथ हेरिएको छ।
लामिछाने र अर्यालबीच भएको छलफलको मुख्य विषय के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। तर, पछिल्लो समय सरकार, प्रहरी र न्यायालयसँग सम्बन्धित विभिन्न विवाद चर्चामा रहेका बेला रास्वपा सभापति र सभामुखबीच भएको भेट अर्थपूर्ण रहेको छ।
सांसदहरूका विवादित गतिविधि र न्यायालयका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएका कथित आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक भइरहेका छन्। इनम सापकोटा प्रकरणसँग जोडिएका ह्वाट्सएप संवाद तथा आर्थिक कारोबारसम्बन्धी कागजातले पनि चासो बढाएका छन्। यद्यपि, सार्वजनिक सामग्रीको प्रामाणिकता र त्यसमा उल्लेख गरिएका आरोप पुष्टि हुन बाँकी छ।














प्रतिक्रिया