२८ आश्विन २०८३, बुधबार

नेता ओलीलाई उपचारका लागि विदेश लैजाने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-hospital

– पूर्ण प्रसाद चौलागाईं

काठमाडौँ, १७ वैशाख । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई उपचारका लागि विदेश लैजाने तयारी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई चिकित्सकहरुको सल्लाहमा विदेश लैजान लागिएको हो । उहाँको स्वास्थ्य अबस्था स्थिर रहेकाले विदेश लैजाने विषयमा छलफल भइरहेको स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिनुभयो ।

‘ओली कमरेडलाई मेनेन्जाइटिसको पुष्टि भएको छ, त्यसैले चिकित्सकहरुले विकल्पबारे सोचिरहन सल्लाह दिएका छन्,’ भण्डारीले दैनिक नेपालसँग भन्नुभयो, ‘भारत या थाइल्याण्डमा लैजाने विषयमा छलफल भएपनि टुंगो लाग्न बाँकी छ ।’

ओलीलाई भारत लैजाने विषयमा नेकपा एमालेका शीर्ष नेताहरुले मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष एवं गृहमन्त्री बामदेव गौतम र महासचिव इश्वर पोखरेलले ओलीलाई एयर एम्बुलेन्सबाट लैजाने ब्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो ।

निरन्तरको भेटघाटले आराम नपुगेको भन्दै अहिले चिकित्सकले ओलीलाई कार्यकर्तासँग भेट गर्न निषेध गरेका छन् । पार्टीका शीर्ष नेता र घर परिवारका सदस्य वाहेक अरुलाई भेट गर्न निषेध गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य परिक्षणमा मेनेन्जाइटिस नामक घातक रोग देखिएको उपचारमा संलग्न चिकित्सक डा कृष्णकुमार ओलीले जानकारी दिनुभयो । मेनेन्जाइटिसको आशंकामा ढाडको पानी निकालेर परीक्षण गरिएको थियो ।

गत महिना भारतको म्याक्स अस्पतालमा एक महिना उपचार गरी स्वदेश फर्कनुभएका नेता ओलीलाई ज्वरो आउने र बान्ता भएपछि चिकित्सकको सल्लाहमा आइतबार राति २ बजे अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारमा न्यूरोलोजिष्ट डा ओलीसहित बिक्रम गजुरेल तथा मिर्गौला रोग विशेषज्ञ दिब्या सिंह र कनकबहादुर राउतको टिम संलग्न छ । चिकित्सकहरुले उहाँलाई भारत कि थाइल्याण्ड लैजान सल्लाह दिएका छन् ।

ओलीको सात वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली पुनः अस्वस्थ भएपछि पार्टीको नवौंँ महाधिवेशन पनि सर्ने सम्भावना बढेको छ ।

१२ दिन अघिमात्र उपचार गराएर भारतबाट फर्किएका ओलीलाई भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका चिकित्सकहरुले कम बोल्न र आराम गर्न सल्लाह दिए पनि स्वदेश फर्केलगत्तै महाधिवेशनको दौडधुमा लाग्नुभएको थियो ।

के हो मेनेन्जाइटिस ?

मेनेन्जाइटिस एउटा सरुवा रोग हो । मेनेन्जाइस रोगका जीवाणुहरु मानिसको मस्तिष्कमा पुगेपछि यो रोगको लक्षण देखापर्छ । यो रोग लागेपछि दिमाग र यसका अन्य भागहरु सुनिन्छन् । यो रोग लागेर बिरामी अपाङ्ग हुनसक्छ । यो रोग लागेर कुनैकुनै बिरामीको मृत्युसमेत हुने सम्भावना हुन्छ । यो रोग छोटो समयमै धेरै व्यक्तिहरुमा लाग्नसक्छ । कहिलेकाँही भाइरसका कारण पनि यो रोग सर्न सक्छ ।