ब्रसेल्स, १३ असार । युक्रेनको पश्चिमी मुलुकले समर्थन गरेका नयाँ राष्ट्रपतिले शुक्रबार युरोपेली महासङ्घको ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतामा हस्ताक्षर गर्न उहाँका मस्कोसमर्थक पूर्ववर्तीले नमान्दा पूर्व सोभियत सङ्घको यो राज्य अस्थिरतामा फसेको थियो भने पूर्व र पश्चिमबीचको सम्बन्ध शीतयुद्धपछि सबैभन्दा नराम्रो अवस्थामा पुगेको थियो ।
युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्कोले उक्त सम्झौताको प्रशंसा गर्नुभएको छ । यसले किभलाई क्रेमलिनको कक्षबाट बाहिर लैजानेछ । हालसम्म युक्रेन युरोप तथा रसियाबीच च्यापिएर रहेको थियो ।
मस्कोबाट प्राप्त समाचारमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको समाजलाई युरोप तथा रसियाबीच छनौट गर्न बाध्य बनाइएकाले विभाजित भएको बताउनुभएको छ । राष्ट्रपति पुटिनले किभले युरोपेली महासङ्घसँग आवद्धताको सम्झौतामा हस्ताक्षर गरेपछि उक्त कुरा बताउनुभएको हो ।
उहाँले किभमा असंवैधानिक सत्ता परिवर्तन तथा युरोप तथा रसियाबीच कृत्रिम छनौटका कारण यो समाज आन्तरिक पीडादायक द्वन्द्व तथा विभाजनतर्फ धकेलिएको बताउनभुयो ।
उहाँले क्रेमलिनमा विदेशी राजदूतहरूलाई युक्रेन शान्ति, वार्ता तथा सम्झौताको मार्गमा फर्कनुपर्ने बताउनुभयो ।
उहाँले किभका अधिकारी तथा दक्षिणपूर्वी क्षेत्रका प्रतिनिधिबीच विस्तृत वार्ता हुन दीर्घकालीन युद्धविराम आवश्यक भएको बताउनुभयो ।
उहाँले आफूहरूले शान्ति प्रक्रियालाई सहयोग गर्न गम्भीर रूपमा प्रयास गरिरहेको बताउनुभयो ।
पश्चिमी मुलुकले रसियाली राष्ट्रपति पुटिनलाई किभका अधिकारीलाई पूर्वी भागका पृकतावादीसँग द्वन्द्व अन्त्य गर्न सहयोग गर्न दबाब दिएका थिए । लुगान्स्क तथा दोनेत्स्क क्षेत्रमा पृथकतावादीले स्वतन्त्रताको घोषणा गरेका छन् र उनीहरूले सरकारी सेनाविरुद्ध सङ्घर्ष गरिरहेका छन् ।
मस्कोले द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न नभएको दाबी गरेको छ र केही लडाकूहरू रसियाली भएको विश्वास गरिएको छ ।
रसियाली राष्ट्रपति पुटिनले रसियाली भाषा बोल्ने क्षेत्रमा थप स्वायत्तपनाका लागि आग्रह गर्नुभएको छ । गत शुक्रबार किभले घोषणा गरेको एक साता लामो युद्धविराम आज समाप्त हुँदैछ भने रसियाले यसको मिति बढाउन आग्रह गरेको छ ।
राष्ट्रपति पुटिनले युक्रेनले युरोपसँग एकीकरणका लागि नजिकको सम्बन्ध स्थापना गर्ने र रसियासँग सौविध्यकारी व्यवहारको अपेक्षा गर्ने कार्य सँगै गर्न नसक्ने बताउनुभएको छ । उहाँका प्रवक्ता पेस्कोभले मस्कोले आफूलाई संरक्षण गर्न आवश्यक पाइला लिने बताउनुभएको छ ।
रसियाली विदेश उपमन्त्री ग्रिगोरी कारासिनले यस समझौताको गम्भीर प्रभाव रहने बताउनुभएको छ ।
युरोपेली महासङ्घले शुक्रबार पूर्व सोभियत मुलुकहरू जर्जिया तथा मोल्दोभासँग पनि यस्तै प्रकारको साझेदारीको सम्झौता गरेको छ । यी दुबै मुलुकले रसियासँगको सम्बन्धलाई जटिल बनाएका छन् ।
युक्रेनका राष्ट्रपति पोरोसेन्कोले यस सम्झौताले आफ्नो मुलुकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने र यो ऐतिहासिक तथा स्वतन्त्रतापछिको सबैभन्दा महत्वपूर्ण दिन भएको बताउनुभयो ।
युरोपेली महासङ्घले शुक्रबारको सम्झौताले युक्रेनको २८ मलुकमा निर्यात प्रतिवर्ष १.३५ अर्बले बढ्ने धारणा व्यक्त गरेको छ ।
रसियाली राष्ट्रपति पुटिनका आर्थिक सल्लाहकार सेर्गेइ ग्लाजयभले बीबीसीलाई युक्रेनी राष्ट्रपति पोरोसेन्कोले युक्रेनको ठूलो भागमा नाजी सरकारको बम प्रहार गरेको आरोप लगाउनुभएको छ ।
युक्रेनी राष्ट्रपति पोरोसेन्काले विद्रोहीले नामका लागि मात्र युद्धविराम पालना गरेको र वास्तवमा उनीहरूले गत साता २० सैनिक मारेको बताउनुभयो ।
सीएनएनमा युक्रेनी राष्ट्रपति पोरोसेन्कोले आफूले रसियाली समकक्षी पुटिन कहिले निकै व्यवहारिक र कहिले निकै भावात्मक भएको देखेको बताउँदै आफूले राष्ट्रपति व्यवहारिक भएको समय खोजिरहेको बताउनुभयो । रासस÷एएफपी














प्रतिक्रिया