२८ आश्विन २०८३, बुधबार

नेपाली क्रिकेटमाथि धोका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasnaike-nepali-cricket

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सम्झौताविपरीत प्रशिक्षक पुबुदु दासानायकेलाई एसिसी प्रिमियर लिग खेल्न मलेसिया जानुअघि तीन महिनाको मात्र सम्झौता नवीकरण गरेको छ।

नेपाली क्रिकेट इतिहासमै कुनै प्रशिक्षकलाई तीन महिनाका लागि सम्झौता गरिएको यो पहिलोपटक हो। प्रशिक्षकको नवीकरण विवादले प्रिमियर लिग खेल्न जाँदा नेपाली टोलीको मनोबल उच्च रहन सकेन। टोली मलीन अनुहारमा मंगलबार मलेसिया लागेको छ।

क्यानले चैत ९ गते दासानायकेको सम्झौता १ वर्षलाई नवीकरण भएको जनाएको थियो। क्यानको कार्यसम्पादन समिति बैठकले दासानायकेको सम्झौता १ वर्ष थप्ने निर्णय गरेको थियो। सम्झौता नवीकरण गर्नेबारे कार्यसम्पादन बैठकमा सबैले सहमति जनाएका थिए।

कार्यसम्पादनमा अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्‍याल, उपाध्यक्षद्वय श्रीनिवास राणा र केशव घिमिरे, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सहसचिव ठाकुरप्रसाद पहाडी र सदस्य दीपक साउद थिए। कार्यसम्पादनको सर्वसम्मतिपछि दोस्रो चरणको बैठकमा दासानायकेलाई राखेर वार्ता गरिएको थियो।

दासानायकेले प्रतिमहिना ५ हजार डलर तलब तथा खाने–बस्ने लगायत सुविधा पाउँदै आएका थिए। नयाँ सम्झौतामा कति सुविधा थपिएको आङबुहाङले नखुलाए पनि उनले त्यतिबेला ‘थपिएका सबै सुविधामा दासानायकेको पनि सहमति रहेको, अहिलेलाई एक वर्षका लागि नवीकरण गरिएको र यसलाई अझ थप्नु खासै ठूलो विषय नहुने’ बताएका थिए।

पाँच हप्तापछि नै क्यानले आफैंले गरेको सम्झौता तोडेर मंगलबार बिहान दासानायकेलाई तीन महिनाको अनुबन्धनपत्र थमाएको हो। ‘म क्यानाडा जानुअघि १ वर्षका लागि नवीकरण गर्ने तथा तलब र अन्य सुविधा थप्ने सहमति भएको थियो। क्यानाडाबाट फर्केपछि भएको सहमति र अहिले दिइएको चिठीमा धेरै फरक पर्‍यो,’ निराश दासानायकेले गुनासो गरे, ‘मेरो सम्झौता नेपाली क्रिकेटसँग जुन २० सम्मको मात्र हो।’

कप्तान पारस खड्काले दासानायकेलाई हटाउन क्यानले जालो बुनिरहेको आरोप लगाए। ‘क्यानका पदाधिकारीहरु अख्तियार धाउनुपरेकाले काम गर्न नभ्याएको हास्यास्पद तर्क दिइरहेका छन्,’ कप्तान पारस खड्काले आक्रोश पोखे, ‘उनीहरु प्रशिक्षकलाई अपमान गरेर निकाल्ने प्रयासमा छन्। नेपाली क्रिकेटमा यत्रो योगदान दिएका प्रशिक्षकलाई यसरी झुलाउनु उहाँको अपमान हो।’

दासानायकेको प्रशिक्षणमा नेपालले डेढ महिनाअघि बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेको थियो, जुन नेपाली खेलकुदकै उपलब्धि थियो। त्यहाँबाट फर्किएको १५ दिन नबित्दै राष्ट्रिय खेलाडीले (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए। एकैपटक कडा आन्दोलनमा उत्रने क्रममा खेलाडीले यसै महिना सम्पन्न राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए। उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शिताको पनि आवाज उठाएका थिए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानमाथि अनुसन्धानसमेत गरिरहेको छ।

त्यसयता क्यानले खेलाडी तथा प्रशिक्षकप्रतिको व्यवहार फेरेको पारसको गुनासो छ। मलेसिया उड्नुअघि उनले भने, ‘सिस्टमको आवाज उठाएयता क्यानले हामीलाई कुनै मतलब गरेको छैन। तयारी पनि आफैँ गरिरहेका छौं।’

‘अहिले नेपाली क्रिकेटमा विभिन्न विषय उठिरहेका छन्। उनीहरुले अख्तियारको अनुसन्धान भइरहेकाले कोही पनि सम्झौतामा हस्ताक्षर गर्न तयार नभएको बताएका छन्,’ दासानायकेले भने, ‘राष्ट्रिय टोलीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गर्नु र क्यानको विरुद्धमा बोल्नुमा मेरो कुनै भूमिका छैन, मलाई क्यानका कुनै पदाधिकारीले खेलाडी उचालिस् भनेर आरोप लगाएका पनि छैनन् र मलाई यस विषयमा केही पनि थाहा छैनन्।’

खेलाडीहरु अहिले ‘लिडर’ भइसकेकाले उनीहरुलाई केही भन्नु जरुरी नभएको दासानायकेले बताए। ‘पारसमात्र होइन, नेपाली टोलीमा अहिले ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकरहरु धेरै बुझ्ने भइसकेका छन्, मेरो कुनै शैली मन नपरे उनीहरु स्पष्ट भन्छन्, हालका दिनमा नेपाली क्रिकेट सफल हुनुमा यो पनि एक कारण हो।’

खेलाडीको विद्रोहपछि क्रिकेट विकासका लागि ‘योजना तथा अनुगमन समिति बनाएर’ कार्यान्वयन गर्ने सहमतिसँगै क्यान विघटनसहितको माग राख्दै आन्दोलनमा उत्रिएका खेलाडीको आन्दोलन सकिएको थियो।

समितिमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, दासानायके, कप्तान पारस पनि छन्। खेलाडीको अडानका कारण दासानायकेलाई समितिमा राख्नुपरेको भनेर क्यानले भित्री रुपमा उनीसँग त्यसको बदला लिइरहेको मान्नेहरु धेरै छन्।

‘एउटा प्रशिक्षक क्यानभन्दा माथि रहेर बनाइएको समितिमा बस्नु ठिक थियो त?,’ दासानायकेले जवाफमा भने, ‘म यो स्थितिमा खेलाडीलाई छाड्न सक्दिनँ, ममाथि उनीहरुको धेरै विश्वास छ। मैले यसअघि जस्तै बनाएको योजना समितिलाई दिने हो, त्यो क्यानले कार्यान्वयन गर्छ, गर्दैन, उनीहरुको विषय हो। क्यानको अनुगमन गर्ने मेरो काम होइन।’

सम्झौता विवादबारे दासानायके धेरै बोल्न चाहेनन्। उनले भने, ‘एसिसी प्रिमियर लिग नेपालका लागि धेरै महत्वपूर्ण प्रतियोगिता हो, नेपालले यो प्रतियोगिताबाट धेरै प्रमाणित गर्नु छ र म अहिले यसैमा केन्द्रित छु।’

क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले दासानायकेको सम्झौता एक वर्ष थप्ने विषयमा कार्यसम्पादन समितिमा छलफल भए पनि क्यानको बोर्डले निर्णय गरिनसकेको बताए। क्यान आर्थिकलगायत विषयमा अख्तियारको अनुसन्धान दायराभित्र रहेकाले बोर्डको निर्णयबिना ठूलो निर्णय लिन नसकेको प्याकुर्‍यालको तर्क छ।

‘हामी दासानायकेप्रति सकारात्मक छौं। कार्यसम्पादनले एक वर्ष नवीकरण गर्नेबारे छलफल गरेको हो। बोर्डबाट पास गराइसकेको छैन,’ उनले भने, ‘नयाँ परिस्थितिले हरेक चिजमा काम गर्न गाह्रो भइरहेको छ। अख्तियारले १० हजार रुपैयाँ खर्च गरेको बारे पनि सोधिरहेको छ। त्यसैले यति ठूलो सम्झौता गर्नुअघि बोर्डबाट पास गराउन खोजेका हौं। नवीकरण गर्दा उनको पारिश्रमिक पनि थप्नुपर्ने भएकाले निर्णय गर्न कठिन भएको हो।’

क्यानमाथि अनुसन्धान भइरहेकाले तत्काललाई तीन महिनाको सम्झौता गरे पनि मलेसियाबाट फर्केपछि थप गर्ने योजना रहेको उनले सुनाए। ‘क्यानको विषम परिस्थितिका कारण हामीले दासानायकेलाई नै अनुरोध गरेका थियौं। उनले पनि कागजी डकुमेन्ट नभई काम नगर्ने बताए। हामीले त्यही कारण उनकै सहमतिमा तत्काललाई तीन महिनाको सम्झौता गरेका हौं,’ प्याकुर्‍यालले भने, ‘तीन महिनासम्ममा अख्तियारको पनि टुंगो लाग्ला। हामी बोर्डबाट पनि निर्णय गर्छौ। त्यसपछि सजिलो हुन्छ।’

मासिक ५ हजार डलर पारिश्रमिकमा काम गरिरहेका दासानायकेलाई तीन महिनाका लागि औपचारिक रुपमा त्यही पारिश्रमिक भए पनि भत्ता बढाएर सम्झौता गरेको प्याकुर्‍यालले बताए। नयाँ सम्झौताका लागि दासानायकेले १२ हजार डलर मासिक माग गरे पनि ८ देखि ९ हजार डलरमा मौखिक सहमति भएको उनले बताए।

२०११ को अक्टोबरमा ६ महिनाका लागि आएका दासानायकेको त्यसपछि १ वर्षका लागि नवीकरण गरिएको थियो। गत वर्ष एसिसी ट्वान्टी–२० कपपछि दोस्रोपटक दासानायकेको करार अवधि थपिएको थियो। नेपाल पहिलोपटक एसिसी ट्वान्टी–२० कपको फाइनलमा पुगेपछि दासानायकेको अवधि थपिएको नागरिक दैनिकमा खबर छ ।