२८ आश्विन २०८३, बुधबार

चीनबाट ल्याएको नयाँ जहाजले बुधबारबाट व्यावसायिक उडान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-air-plane

काठमाडौँ, १० असार । नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाजको बुधबारबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान सुरु गर्ने जनाइए पनि प्रक्रिया पूरा गर्न केही समय लागेको थियो ।

निगमले बुधबारका लागि काठमाडौँ–विराटनगर, विराटनगर–काठमाडौँको उडान तालिका तय गरेको छ । व्यावसायिक उडानअन्र्तगत बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो जहाज विराटनगर प्रस्थान गर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

निगमले विराटनगरका लागि रु तीन हजार ५०५ एकतर्फी भाडादर तय गरेको छ । अति व्यस्त हुने स्थानअन्तर्गत निगमले पहिलो चरणमा विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा सेवा दिने जनाएको छ । निगमले तय गरेको भाडा दर अन्य सेवा प्रदायक विमान कम्पनीको तुलनामा केही सस्तो रहेको छ ।

सो जहाज चिनियाँ चालकले उडाउने र नेपाली चालकले भने अध्ययन गर्ने प्रवक्ता शर्माले बताउनुभयो । करिब एक सय घण्टा प्रशिक्षार्थीको रूपमा नेपाली चालक सो जहाजमा उडेपछि मात्रै पूर्ण रूपमा उडानका लागि योग्य हुने जनाइएको छ ।

पहिलो चरणमा हप्तामा १५ उडान गर्ने योजनाअन्तर्गत बुधबारबाट व्यावसायिक उडान सुरु गरिने र विस्तारै थप गर्दै लैजाने निगमको योजना रहेको छ ।

जहाज आएको लामो समय हुँदासम्म उडान हुन नसकेकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत चासो लिएको थियो । आयोगले दिएको निर्देशनअनुसार प्राधिकरण र निगमका उच्च अधिकारीले असार १५ गतेभित्र उडान सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए ।

आयोगले पहिलो चरणमा १० गतेभित्रै उडान सुरु गर्न निर्देशन दिए पनि प्राविधिक प्रक्रिया पूरा गर्न थप केही दिन लाग्ने जनाउँदै आएको थियो । निगमले आजै मात्र प्राधिकरणबाट उडान अनुमतिपत्र पाएको छ ।

‘‘सबै प्रक्रिया पूरा भयो, प्राधिकरणले उडान अनुमतिपत्रलगायतका अन्य कागजात समेत दिएको छ, अब जहाज निश्चिन्तरूपमा उड्छ’’ प्रवक्ता शर्माले भन्नुभयो ।

यसैबीच चीनबाट अनुदानमा ल्याउन लागिएको वाई १२ मोडलको अर्को जहाजको प्राविधिक निरीक्षण गर्न यही असार १३ गते चीन प्रस्थान गर्ने भएको छ ।

चीनले दुईवटा जहाज नेपाललाई अनुदानमा दिन लागेको हो भने थप चार जहाज भने व्यापारिक उद्देश्यका साथ प्रदान गर्न लागेको हो ।

‘‘प्राविधिक निरीक्षणपछि सो जहाज पनि ल्याइने र थप क्षेत्रहरूमा सेवा दिने लक्ष्य रहेको छ’’ प्रवक्ता शर्माले भन्नुभयो । हाल निगमसँग रहेको एउटा टुइनअटर जहाजमार्फत दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ ।