अबुजा, ८ असार । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शनिबार संदिग्ध बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार चिबोक सहरनजिकैको कोरोङ्गीनीम गाउँमा सो आक्रमण भएको थियो । जुन क्षेत्रमा गत अप्रिलमा दुईसय भन्दा बढी विद्यालयका छात्राहरूको अपहरणमा परेका थिए ।
सुरक्षास्रोतका अनुसार सैनिक पोशाकमा आएका आतङ्ककारीहरूले जथाभावी रुपमा चलाएको गोलीबाट एकदर्जन व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा अन्य १० जना घाइते भएको जनाइएको छ । गोली प्रहारगरी हत्या गरेपछि आतङ्ककारी समूहले स्थानीय बासिन्दाको घर समेत जलाई दिएका जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीले यो आक्रमण बोको हराम आतङ्ककारी समूहले गराएको दाबी गरेका छन् ।
नाइजेरियामा सन् २००९ देखि हालसम्म भएका भिषण आक्रमणहरु बोको हराम आतङ्ककारी समूहले गराउँदै आएका छन् ।गत अप्रिलमा दुईसय भन्दा बढी विद्यालयका छात्राहरूको अपहरणको घटना पनि सोही समूहले जिम्मा लिएका थिए । रासस–सिन्ह्वा














प्रतिक्रिया