काठमाडौं, २९ भदौ । थारुवान थरुहट संयुक्त आन्दोलनका कमाण्डर राजकुमार लेखीले नयाँ संविधानलाई थारुहरुले स्वागत गर्ने बताउनुभएको छ ।
आफ्नो अन्तर्वार्ताका क्रममा उहाँले थारुहरुका अधिकांश मुद्दा सम्बोधन भइसकेकाले संविधानलाई स्वीकार गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो-‘हाम्रो धेरै मागहरुलाई संविधानसभाले सम्बोधन गरेको छ, अब थारु समुदायको असन्तुष्टि प्रदेशहरुको सीमांकनमा मात्रै छ, जसलाई हल गर्न प्रधानमन्त्री लगायतका शीर्ष नेताहरु सकारात्मक छन्, त्यसकारण जनताको संविधानलाई अस्वीकार गर्दैनौं ।’
उहाँले संविधान बनेपछि आफ्ना बाँकी माग सम्बोधन हुने विश्वास गर्नुभयो । नेता लेखीले अब थारु समुदायको असन्तुष्टि प्रदेशहरुको सीमांकनमा मात्र बाँकी रहेको प्रष्ट पार्दै थप अधिकारका लागि संविधान बनेपछि संघर्ष गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो-‘केही नेताले सीमांकनको मुद्दा सम्बोधन गर्न अवरोध हालेका छन् । त्यो अवरोध हटाउन वार्ता र संषर्घ सँगसँगै अगाडि बढ्छ, आशा छ संविधान बनिसकेपछि हाम्रो माग सम्बोधन हुनेछ ।’
उहाँले नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लालाई पहाडबाट अलग गरेर प्रदेश मिलाउने र थारुलाई विशेष अधिकार दिएर कैलाली कञ्चनपुरलाई सुदूरपश्चिममै राख्न आफूहरु मान्न सक्ने संकेत गर्नुभयो ।
उहाँले भन्नुभयो-‘वार्तामा बसेपछि शत प्रतिशत माग कसैका पूरा हुँदैनन्, त्यसमा लेनदेन हुन्छ । गिभ एण्ड टेक पद्धती अनुसार हामी लचक हुन्छौं ।’ आफूहरुको आन्दोलन पहाडिया समुदाय विरुद्ध नभएको समेत उहाँले प्रष्ट पार्नुभयो ।












प्रतिक्रिया