२१ कार्तिक २०८३, शनिबार

हिमाली जिल्लामा नुनको मूल्य महँगो हुनुमा सडक अभाव मुख्य कारण : गृहमन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुन लगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका बासिन्दाले सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्नुपरेको बताए ।

उनले हिमाली जिल्लाका धेरै ठाउँमा सडक नपुगेका कारण मानिसले सामान बोकेर लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे । यो समस्या कुनै एउटा जिल्लाको मात्र नभई मुस्ताङ, मुगु लगायतका हिमाली जिल्लाको साझा समस्या भएको उनको भनाइ थियो ।

‘हिमाली जिल्लामा सबै ठाउँमा नुन सहज रूपमा उपलब्ध छैन । जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन । पहिला बाटो बन्न समय लाग्छ, तर आपूर्ति त गर्नुपर्‍यो नि,’ उनले भने ।

गुरुङले सडक सुविधा नहुँदा मुस्ताङमा विगतमा एउटा नुनको मूल्य दुई सयदेखि चार सय रुपैयाँसम्म पर्ने गरेको उदाहरण दिए । सडक निर्माण भएपछि ढुवानी सहज हुने र त्यसले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सहयोग पुग्ने उनले बताए ।

‘मुगुमा त झन् बिजोग छ । यो नियति सरकारले परिवर्तन गर्छ,’ उनले भने ।

उनले सरकारले हिमाली क्षेत्रका नागरिकको समस्या सम्बोधन गर्न बजेटसमेत छुट्याएको दाबी गरे । बजेट कार्यान्वयन हुन र त्यसको परिणाम देखिन समय लाग्ने भन्दै उनले केही समय धैर्य गर्न आग्रह गरे ।

‘अहिले ६ महिनामै हामीले धेरै कुरा बाटो माथिसम्म पु¥याउन सक्छौँ भनेको छैनौँ । तर पहल गरेर बाटोमा बजेट हालेर काम अगाडि बढाउन सकिन्छ नि,’ उनले भने ।

गुरुङले नुनको मूल्यको विषयलाई मात्रै नभई समग्र हिमाली क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताए । प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू हिमाली क्षेत्रका नागरिकको दुःख सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो ।

सडक सञ्जाल विस्तारसँगै हिमाली क्षेत्रका नागरिकले भोग्दै आएको ढुवानी तथा दैनिक उपभोग्य वस्तुको महँगीसम्बन्धी समस्या क्रमशः समाधान हुने उनले विश्वास व्यक्त गरे ।