इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शंकास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो । उक्त बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
बरामद गरिएको ४७ किलो शंकास्पद वस्तु परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार उक्त वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको उनले बताए ।
विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार सो वस्तु न्यून विस्फोटक पदार्थ (गन पाउडर/कालो बारुद) रहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
विस्फोटक पदार्थसहित पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीमाथि यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो ।
अब भने उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा कानुनी कारबाही अघाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
बरामद विस्फोटक पदार्थ र अन्य सामानको स्रोत तथा ओसारपसारमा संलग्न पक्षको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।












प्रतिक्रिया