ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन् । संख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज बनाउन केबलकार निर्माणको काम छिटो पूरा गर्न आग्रह गरेका छन् ।
पाथीभरा देवीको दर्शनका लागि यतिबेला नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत दिनहुँ १० हजारभन्दा बढी तीर्थालुहरू ताप्लेजुङ आउने गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार दशैंयता दैनिक १० हजारभन्दा बढिले पाथीभरा मन्दिरको दर्शन गरिरहेका छन् ।
गत मंगलबार यो वर्षकै सबैभन्दा बढी ११ हजारको हाराहारीमा दर्शनार्थीहरू पाथीभरा पुगे । लामो यात्रा पछि ताप्लेजुङको पाथिभरा पुगेका तीर्थालुहरूले तल्लोफेदीबाट उकालो यात्रा सुरु गरी ठूलोफेदी हुँदै पाथीभरा मन्दिर सम्म पुगी देवीको आर्शीवाद पाउन कठिन यात्रा गर्नु परेको बताए । पाथीभरा मन्दिर पुग्ने कठिन पदमार्गमा युवाहरूलाइ सहज भए पनि आमाबुवा तथा परिवारका अशक्त सदस्य र वालबालिकाहरूले सास्ती खेप्नु परेको तीर्थालुहरूको भनाइ छ ।
पदमार्गमा भेटिएका अधिकाशं तीर्थालुहरूले पाथिभरा केबलरकार निर्माणमा भएको ढिलाइमा चासो देखाउदै पाथीभरा देवीको दर्शन गर्न सबैलाइ सहज हुने वातावरण बनाइदिन आग्रह समेत गरेका छन् । केबलकार निर्माण भए भक्तजनको संख्या बढ्ने र ताप्लेजुङ सहित समग्रु क्षेत्रकै विकासमा ठूलो योगदान पुग्ने तीर्थालुहरूको भनाइ छ ।
पाथीभरासम्म पुग्नका लागि पाथीभरा देवी दर्शन प्रालिले केबलकार परियोजनाको करिब ६० प्रतिशत निर्माण कार्य पूरा गरे पनि आयोजनाको काम एकाएक रोकिएको छ । तत्कालीन स्थानीय प्रशासनको मौखिक आदेशमा रोकिएको काम फरि कहिले सुचारु हुन्छ भन्नेमा केबलकार आयोजनाले जानकारी दिएको छैन् ।
तीर्थालुसँगै ताप्लेजुङबासीले पाथीभरा देवीको दर्शन तथा कञ्चनजङ्घा हिमशृङ्खलाको रोमाञ्चक दृश्य र प्राकृतिक सौन्दर्य हेर्न पाथीभरा क्षेत्रमा पुग्ने दर्शनार्थीको सहजतालाइ ध्यान दिन समेत सरकार र स्थानीय प्रशासन तथा केबलकार आयोजनासँग माग गरेका छन् ।
पाथीभरासम्म पुग्ने केबलकार र अन्य पूर्वाधारमा सुधार तगा सुविधामा ध्यान दिन सके पाथीभरा क्षेत्र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा उदाउने र समग्र कोशी प्रदेशको आर्थिक मुहार फेरिन सक्ने विश्वास स्थानीय व्यवसायीहरूको छ ।












प्रतिक्रिया