२१ कार्तिक २०८३, शनिबार

बैंक धराशायी हुँदा पाराग्वेका राष्ट्रपति पेनाले गुमाए सत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाभियोग लगाइँदै नजरबन्दमा राखिएको छ । एउटा बैंक धराशायी हुँदा उत्पन्न संकटका कारण देशको आधाभन्दा बढी जनसंख्या आफ्नो बैंक खातामा पहुँच पाउन नसक्ने अवस्थामा पुगेपछि यो कदम चालिएको हो ।

यसै साता ‘उएनो बैंक’ धराशायी भएपछि पेनालाई पदबाट हटाउन सांसदहरूले, जसमा उनकै दलका सदस्यहरू पनि थिए, सर्वसम्मतिले मतदान गरे । त्यसको केही मिनेटपछि नै शुक्रबार पेनालाई पक्राउ गरियो । उक्त बैंकसँग पेनाको निजी व्यावसायिक स्वार्थ जोडिएको छ ।

उनले बिहीबार नै राजीनामा दिने प्रस्ताव गरेका थिए । तर, राजीनामा स्वीकार गर्नुको सट्टा सिनेटरहरूले पेनालाई महाभियोग लगाउँदै दुराचारको आरोप लगाए । यसको अर्थ, पूर्वराष्ट्रपतिहरूलाई सामान्यतया प्राप्त हुने उन्मुक्ति अब उनलाई रहने छैन ।

पेना, जसले गत वर्षसम्म उक्त बैंकको स्वामित्वमा रहेको कम्पनीमा सेयर लिएका थिए, आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन् ।

पेनालाई पदबाट हटाउन लगाइएको महाभियोगमा उनीमाथि स्वार्थको द्वन्द्व रहेको, नियामक निगरानीमा हेरफेर गरेको, पेन्सन कोषको रकम अन्यत्र प्रयोग गरेको र केन्द्रीय बैंक समेत संलग्न रहेको संस्थागत अनियमितता लुकाउने कार्यमा सहभागी भएको आरोप लगाइएको छ ।

विश्वासघात, प्रभावको दुरुपयोग र रकम हिनामिना गरेको आरोपमा उनीसँग शनिबार सोधपुछ गरिने सरकारी वकिल सिल्भिया मार्गरीटा गोन्जालेज भेस्टरले जानकारी दिइन् ।

पेनाका उपराष्ट्रपति पेड्रो आलियानाले नयाँ अन्तरिम राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । उनले यस काण्डबाट प्रभावित लाखौं मानिसहरूलाई ‘अलपत्र नछोड्ने’ प्रतिबद्धता जनाएका छन् ।

सन् २०२८ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने आलियानाले भने, “वित्तीय संकटका कारण अहिले कठिन समयबाट गुज्रिरहेका मेरा देशवासीहरूलाई पूर्ण क्षतिपूर्ति दिइनेछ ।”