२१ कार्तिक २०८३, शनिबार

कांग्रेस, एमालेका मधेसी सभासदलाई मोर्चाको दबाबपत्रः संविधानसभा छाडेर आन्दोलनमा आउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लहान, २७ भदौ । प्रादेशिक सीमाङ्कनप्रति आपत्ति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले आज सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासद्लाई दबाबपत्र पठाएका छन् ।

मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनमा समर्थन जनाउँदै संविधानसभामा मधेसी, थारु, दलित र मुस्लिम समुदायको पक्षमा भूमिका खेल्न आग्रह गर्दै सभासद्लाई मोर्चाले दबाबपत्र पठाएको हो ।

सिरहा क्षेत्र १ र २ बाट प्रतिनिधित्व गर्ने सभासद्लाई संविधानसभामा मधेसी, थारु, दलितलगायतको पक्षमा भूमिका खेल्न र मधेस विरोधी संविधान निर्माण हुने परिस्थिति उत्पन्न भए सो प्रक्रियाबाट अलग भएर जारी आन्दोलनमा सहभागी हुन आग्रह गर्दै दबाबपत्र पठाएको मोर्चाका जिल्ला सयोजक कृष्णबहादुर यादवले जानकारी दिनुभयो ।

मोर्चाका नेता कार्यकर्ताले सिरहा क्षेत्र नं १ का नेपाली काँग्रेसका सभासद् पदमनारायण चौधरी, सिरहा क्षेत्र नं २ का नेकपा (एमाले)का सभासद् रामचन्द्र यादव, समानुपातिकतर्फका नेपाली काँग्रेसका सभासद् प्रदीप गिरी, अमियकुमार यादव, नेकपा (एमाले)का समानुपातिक सभासद् ममता गिरी र सभासद् तथा शिक्षा मन्त्री चित्रलेखा यादवलाई दबाबपत्र पठाएको मोर्चाका संयोजक यादवले बताउनुभयो ।

यसैबीच, मोर्चाको लगातारको आमहडतालका कारण सिरहाको जनजीवन अस्तव्यस्त बनेको छ । जिल्लाको लहान, सदरमुकाम सिरहा, मिर्चैया, गोलबजार, धनगढीलगायत बजार पूर्णरुपमा बन्द छन् ।

निरन्तरको बन्दका कारण दैनिक उपभोग्य सामग्रीका साथै तरकारीको मूल्य अकाशिएको छ । रासस