२१ कार्तिक २०८३, शनिबार

सम्वाद र सहमतिका लागि शनिबार दिनभरी अनौपचारिक परामर्श, ठोस पहल भने हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil_prachanda_Oli_763888178
काठमाडौं, २६ भदौ । आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउनका लागि प्रमुख तीन दलले संविधान निर्माणको प्रक्रिया दुई दिन लम्बाउने निर्णय गरे पनि त्यसलाई सार्थकत दिन आज ठोस पहल हुन सकेन । यद्यपि दलका नेताहरुले आआफ्नो तरिकाले सम्वाद गरेको स्रोतहरुको भनाइ छ ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग आफ्नै निवासमा छलफल गर्नुभयो ।

उहाँले त्यस क्रममा गच्छदारलाई संविधानसभामा फर्किएर संविधान निर्माणको प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको स्रोतले जनाएको छ । दाहालले अन्य विभिन्न दलका नेताहरुसँग आन्तरिक रुपमा परामर्श गरेको बुझिएको छ ।

त्यसै गरी कांग्रेस र एमालेका नेताहरुले पनि आआफ्नो तरिकाले आन्दोलनरत पक्षसँग अनौपचारिक छलफल गरेको बुझिएको छ ।

तीन दल र तिनका नेताहरुले अनौपचारिक छलफलहरु गरे पनि वार्तामा भने ठोस निर्णय हुने गरेर बसेनन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन नछाड्ने जनाएको छ ।

थारु आन्दोलनकारी पनि वार्ताका लागि तयार छन् । तर सरकारले उनीहरुलाई वार्तामा बोलाउनका लागि कुनै पहल नगरेको थारु नेताहरुले बताएका छन् ।

भोलि आइतबार संविधानसभामा साढे एघार बजे संविधान निर्माणको प्रक्रिया अगाडि बढ्दैछ । त्यसअघि सहमति गरेर मधेसी र थारु तथा अन्य समूहका मागलाई सम्बोधन गर्ने तीन दलले शुक्रबार निर्णय गरिसकेका छन् ।

संविधान निर्माण प्रक्रिया दुई दिन स्थगन भए पनि दलहरुले त्यसलाई सार्थकता दिन आज ठोस पहल नभएको काठमाडौंबाट हाम्रा सहकर्मी विमल योगीले जनाएका छन् ।

उता, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आफ्नो मोर्चा पनि वार्ताका विषयमा छलफल गर्नुभएको छ । उहाँले वार्ता प्रक्रिया सकारात्मक रहेको भन्दै संविधानसभामा फर्किने संकेत गरिसक्नुभएको छ ।