
काठमाडौं, २६ भदौ । एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामि भदौ २८ गते संविधान जारी हुने भन्दै दीपावालीको लागि तयार भएर बस्न आग्रह गर्नुभएको छ ।
रिपोर्टर्सं क्लब नेपालले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘अब संविधान बन्यो निश्चित हुनुस, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘दीपावली गर्न तयार भएर बस्नुस । संविधान निर्माणको प्रक्रिया रोकिदैन । भोलिबाट प्रक्रिया सुरु हुन्छ ।’
भण्डारीले तराईमा भईरहेको आन्दोलनलाई साम्प्रदायिक दंगातर्फ लान खोजिएको आरोप लगाउँदै यस अवस्थामा तराईका जनताको शान्ति सुरक्षाको लागि परिचालन गरिएकाले सेना परिचालन फिर्ता नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनि गर्ने, आगलागी गर्न आउने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने ? शान्ति सुरक्षाकालागि सुरक्षा परिचालन ठीक हो ।’
उपाध्यक्ष भण्डारीले झापादेखि कञ्चनपुरसम्मको प्रदेश कुनै पनि हालतमा हुन नसक्ने बताउँदै संविधानसभाले गर्ने निर्णयको लागि संविधानसभामा सहभागी हुनुपर्ने बताउनुभयो ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले तीन दलले संविधानसभामा कोरम नपुगेकोले दुई दिन स्थगित गरेको दावी गर्दै यो स्थगतको कुनै औचित्य नभएको बताउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, ‘हामी वार्ताका विरोधी होइनौ । तर सरकारले वार्ताको वातावरण बनाएको छैन । सेना परिचालन गरेर मधेसमा तनाव कायम रहँदासम्म बातावरण बन्दैन । राजनीतिक समस्या सेना परिचालन गरेर समाधान हुँदैन ।’
कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आन्दोलनरत पक्षहरु वार्तामा आउनै पर्ने भन्दै वार्तामा आएपछि सेना पनि ब्यारेक फर्किने बताउनुभयो ।
उनले भन्नुभयो, ‘बाहिर बसेर माग पूरा हुँदैन । मधेस आतंककारीको स्वर्ग बन्न थाले समस्या आउँछ । वार्ताको विकल्प छैन । वार्ताको लागि समय होईन इच्छाशक्ति आवश्यक पर्छ ।’
एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटाले संविधानसभा लामो समयसम्म स्थगन गर्दा देशलाई फाइदा नपुग्ने बरु अनन्तकालसम्म लम्बिएर प्राप्त उपलब्धि गुम्ने अवस्था आउने आशंका ब्यक्त गर्नुभयो । उहाँले राष्ट्र र जनताको पक्षमा सोच्ने हो भने ४८ घण्टाको समयमा धेरै गर्न सक्ने बताउनुभयो ।












प्रतिक्रिया