काठमाडौँ, २६ गते । ‘भूकम्पको देश’ भनेर चिनिने जापानबाट खुसीको सन्देश बोकेर जापानी स्वयमसेवकहरु नेपालका गाउँ–गाउँ पुगेका छन् ।
एसिया फ्रेण्डसिप नेटवर्कको संयोजनमा जापानी स्वयम्सेवी संस्था एसिया अफ्रिका कोपरेशन इनभाइरोमेन्ट सेन्टर (आसेक–जापान) का स्वयमसेवकहरु गेन्की मेल अर्थात खुसीको सन्देश बोकेर नेपालका गाउँ–गाउँमा पुगेका हुन् । प्राकृतिक विपत्तिपछि समाजमा पर्ने मनोबैज्ञानिक तथा सामाजिक असरबाट राहत दिलाउन आसेकका अध्यक्ष उरितानी उकिताकाको नेतृत्वमा स्वयमसेवकहरु नेपाल आइपुगेका हुन् ।
जापान र मंगोलियाका प्राथमिक तहका विद्यार्थीहरुले लेखेर पठाएका करिब ६ सय सन्देशहरु सिन्धुपाल्चोक जिल्लाको कुन्चोक गाविसस्थित महेन्द्र मावि, सरस्वती प्राविका विद्यार्थीहरुलाई दिइएको छ । जापान र मंगोलियाका करिब छ सय विद्यार्थीले पठाएको ‘गेन्की मेल’ अर्थात खुसीको सन्देश स्वयमसेवकहरुले नेपालको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका विद्यालयहरुमा बाँडेका थिए । खुसीको सन्देशमा ‘नआत्तिनु ! हामी पनि साथमा छौँ, प्रे फर नेपाल, वुई लभ नेपाल, हामी पनि तपाईंहरुलाई भेट्न आउँछौँ’ लगायतका सन्देश थिए ।

आसेक विगत २५ बर्षदेखि प्राकृतिक प्रकोपबाट क्षति हुने देशहरुमा सहयोग गर्दै आएको सामाजिक संस्था हो । चीन, रुस, पेरु, चिली, इरान, टर्की, ताइवान, अल्जेरिया र म्यानमारमा दैवीप्रकोप तथा विपत्ति परेका बेलामा अस्थायी घर, विद्यालय, अस्पताल, एम्बुलेन्स तथा दमकलहरु पठाएर सहयोग गरिरहेको छ । नेपालमा पनि भूकम्प प्रभावित जिल्लाहरुमा सहयोग गर्ने उद्देश्यले गेन्की मेलमार्फत अबस्था बुझ्न आएको संस्थाका अध्यक्ष उरितानी उकिताकाले जानकारी दिए ।

‘भौतिक सहयोग त सबैले गर्छन् तर मानसिक सहयोग सबै गुमाएर निराश भएको बेला हौसला दिनु भनेको बाँच्ने आधार बन्छ पीडितहरुका लागि । कोही त छ सहयोग गर्ने भन्ने आडमात्र पाउँदा पनि धेरै हदसम्म खुसी मिल्छ, जुन खुसी पैसाले किन्न सकिँदैन । त्यसैले विद्यार्थीहरुले हामी पनि साथमा छौँ नआत्तिनु खुसी हुनु, हामी नेपालका लागि प्रार्थना गरिरहेका छौँ’ जस्ता सन्देशहरु लेखेर पठाएका छन् । त्यसैले यो गेन्की मेल नेपालमा लिएर आएका हौँ,’ अध्यक्ष उकिताकाले भने, ‘सबैभन्दा बढी क्षतिग्रस्त भएका सिन्धुपाल्चोकका विद्यालयहरु अझै पनि बन्न सकेका छैनन्, अस्थायी टहरामा कक्षा संचालन गर्न बाध्य छन् करिब पाँच सय विद्यार्थी रहेको कुन्चोक महेन्द्र उमाविको अबस्था देखेर सहयोग गर्ने वचन पनि दिएका छन् ।’
नेपालको शिक्षा क्षेत्रमा विगत १९ बर्षदेखि कार्यरत एसिया फ्रेण्डसिप नेटवर्कले भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय भवन निर्माण लगायत अन्तर हाइस्कूल स्तरीय खेलकुद प्रतियोगिता, गेन्की मेल (खुसीको सन्देश), इ–एजुकेशन जस्ता कार्यक्रम संचालन गर्दै आएको छ । आगामी २ बर्षभित्र करिब ५० वटा विद्यालय भवन निर्माण, फर्निचर तथा पुस्तकालयको निर्माण, कम्प्युटर तथा इन्टरनेट सुविधा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न मुलुकको सहकार्य गरिरहेको एसिया फ्रेण्डसिप नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले बताए ।
खुसीको सन्देश वितरण कार्यक्रममा संस्थाका अध्यक्ष उकिताका लगायत इकेदा दाइसुके, इकेवे मिहोकोसहितको तीन सदस्यीय हाल नेपाल भ्रमणमा रहेका छन् ।














प्रतिक्रिया