तनहुँ, २६ भदौ । तनहुँ जिल्लाको दमौलीमा शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका– १ घर भएका १८ वर्षीय रोशन दुरा रहेका छन् । उनको उपचारको क्रममा शुक्रबार राति साढे एघार बजे मणिपाल अस्पताल पोखरामा मृत्यु भएको हो । सशस्त्र प्रहरीले चलाएको गोली दुराको छातीमा लागेको थियो ।
व्यास नगरपालिका– ७ का १६ वर्षीय पूर्णबहादुर आलेको गत सोमबार भएको रहस्यमय मृत्युको प्रभावकारी अनुसन्धान हुनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरूलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रबार दमौलीमा गोली चलाएको थियो ।
सो क्रममा प्रहरीको गोली लागी ४ जना घाइते भएका थिए । अन्य घाइतेको पनि पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सैयौँको संख्यामा रहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच दर्जनभन्दा बढी अश्रुग्याँस र गोली प्रहार गरेको थियो ।
मृतक पूर्णबहादुर आलेका आफन्तले जिल्ला अस्पतालले गरेको पोष्टमार्टम रिर्पाेट नमान्ने बताउँदै आएका छन् । उनीहरुले अभियुक्तपक्षसँग मिलेर डाक्टरले पोष्टमार्टममा आत्महत्या गरेको रिर्पाेट बनाएको आरोप लगाएका छन् ।
आलेका आफन्तले त्रिभुवन शिक्षण अस्पतालका चिकित्सकबाट पोष्टमार्टम हुनुपर्ने अडान लिएका छन् । आलेको शव गत सोमबार आदिकवि भानुभक्त क्याम्पसको परिसरको एक रुपमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा शव भेटिएपछि हत्या गरी झुन्डयाइएको आफन्तले आरोप छ ।












प्रतिक्रिया