काठमाडौं, २६ भदौ । झण्डै एक महिनादेखि आन्दोलनमा रहेका थारु आन्दोलनकारीले सरकारसँगको वार्तालाई सकारात्मक रुपमा लिएपनि ठोस वार्ताका लागि सरोकारवाला निकायले जिम्मेवारीसाथ नलिएको भन्दै आक्रोश व्यक्ति गरेका छन् ।
थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले आज दैनिक नेपालसँगको कुराकानीका क्रममा आफूहरू सार्थक वार्ताका लागि तयार रहेको बताउनुभयो । ‘हामी वार्ताका लागि तयार छौँ’, उहाँले भन्नुभयो, ‘वार्ता मात्रै भनेर भएन । त्यसका लागि वातारवरण बनाउने जिम्मेवारी सरकारको हो ।’ उहाँले अहिलेसम्म सरकारले वार्ताका लागि सम्पर्क नगरेको बताउनुभयो ।
पूर्वअध्यक्ष लेखीले वार्ताका लागि राखिएका न्युनतम सर्त पूरा भए जतिबेला पनि वार्ता हुन सक्ने बताउनुभयो । ‘पहिला पनि वार्ताका लागि पत्राचार भएको हो’, उहाँले भन्नुभयो, ‘थारु आन्दोलनकारीका तर्फबाट हामीले जिम्मेवार रुपमा जवाफ पनि पठाएका छौँ ।’
उहाँले सरकार र प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादी वार्तामा भन्दा पनि थारुहरूलाई पेलेर लैजाने पक्षमा रहेको आफूहरूलाई लागेको बताउनुभयो ।
थारुले आन्दोलन गरेको झन्डै एक महिना भइसक्दा पनि सरकार र तीन दलले त्यसलाई सम्बोधन गर्नेतर्फ गम्भीर भएको नदेखिएको पूर्व अध्यक्ष लेखीले उल्लेख गर्नुभयो ।
थारु बाहुल्य तराईका जिल्लालाई मिलाएर संघीय राज्यको माग गर्दै आएको थारु समुदायले अहिलेको सिमाङ्कनप्रति चित्त बुझाएको छैन ।












प्रतिक्रिया